काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले छुट्टै महाधिवेशनको तयारी थालेको छ। बुधबार इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा बसेको शीर्ष नेताहरूको बैठकले १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावअनुसार वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते र प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने तयारी छ। त्यस्तै, जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते तथा केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्तावमाथि इतर पक्षमा छलफल भइरहेको छ। नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति निर्धारण गरी आन्तरिक तयारी अघि बढाइरहेका बेला इतर समूहले भने छुट्टै महाधिवेशनको दिशामा तयारी थालेको हो। गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेस दुई समूहमा विभाजित छ। कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा दुवै पक्ष छुट्टाछुट्टै महाधिवेशन गर्ने तयारीमा अघि बढेको देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्