काठमाडौं । नेपाल प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ४० करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएका छन् । विपद्को कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउन नेपाल प्रहरीले आफ्नो तलबबाट रकम उपलब्ध गराउने निर्णय गरेको हो । आईजीपीसहित प्रहरीका उच्च अधिकारीको सोमबार बसेको बैठकले कार्यालय सहयोगीको दुई दिन, प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीको पाँच दिन र प्रहरी निरीक्षकदेखि प्रहरी वरिष्ठ नायव निरीक्षकसम्मको छ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । त्यस्तै, प्रहरी निरीक्षकदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका अधिकारीले १२ दिन र प्रहरी नायव महानिरीक्षक (डीआईजी)देखि प्रहरी महानिरीक्षक (आईजीपी)सम्मका अधिकारीले १५ दिनको तलब बाढीपीडितका लागि सहयोग गर्ने निर्णय भएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले निर्णयअनुसार राहत कोषमा रकम जम्मा गरिने जानकारी दिनुभयो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्