काठमाडौँ, भदौ १७ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसीमा आएको बाढी एउटा देश वा निश्चित भूगोलको मात्र नभई विश्वव्यापी संकटको विषय भएको बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले नेपालले पटकपटक प्राकृतिक विपत्तिको सामना गर्नुपरेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण उत्पन्न संकटलाई विश्व समुदायले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । “यो संकट एउटा देशको मात्र होइन, विश्वव्यापी हो । नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष र गम्भीर असर व्यहोर्नुपरेको बताउँदै उहाँले बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपत्तिको जोखिम बढ्दै गएको उल्लेख गर्नुभयो । प्रचण्डले भोटेकोसी बाढीपछि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनको विषयलाई गम्भीरतापूर्वक उठाउनुपर्ने बताउनुभयो । संकटको यस घडीमा आफूहरू बाढीपीडितको साथमा रहेको उहाँको भनाइ थियो । उहाँले हरेक ठाउँमा सरकारको उपस्थिति देखिनुपर्ने बताउँदै दुःखमा सरकार देखिनुपर्ने र विपत्तिमा राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रदेखि स्थानीय तहसम्म तथा सुरक्षाकर्मीदेखि सर्वसाधारणसम्म सहमति र सहकार्यको नयाँ आधार निर्माण गरी संकटको सामना गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालका हिमाल पग्लिँदै गएको र चट्टान तथा हिउँबीचको सम्बन्ध कमजोर हुँदै गएको विषय आफूले विगतमा अन्तर्राष्ट्रिय मञ्चमा समेत उठाएको प्रचण्डले स्मरण गर्नुभयो । नेपालले कार्बन उत्सर्जन नगरे पनि ठूला राष्ट्रबाट हुने कार्बन उत्सर्जनका कारण नेपालले गम्भीर असर व्यहोर्नुपरेको उहाँले बताउनुभयो । यस विषयमा ठूला तथा विकसित राष्ट्रहरू गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो । प्रचण्डले बाढीपीडितको उद्धार तथा राहतका लागि सेना परिचालनसँगै जनपरिचालनलाई समेत प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्