दाङ । दंगीशरण गाउँपालिका–२ कलमखोलाकी तिला पुनका लागि सालको पात अब वनमा खेर जाने वस्तु मात्र रहेन। वनबाट सालको पात टिपेर गाउँमै रहेको उद्योगमा पुर्याएपछि त्यसबाट आम्दानी हुन थालेको छ।
घरायसी काम र घाँसदाउरामा सीमित तिलाको दैनिकी अहिले सालको पातबाट दुना–टपरी बनाउने कामसँग जोडिएको छ। आफ्नै गाउँमा रोजगारी पाएपछि घरखर्च चलाउन सहज भएको उनले बताइन्।
तिलाजस्तै कलमखोलाका २० जना स्थानीय सालको पातबाट दुना–टपरी बनाउने काममा जोडिएका छन्। गाउँमै सञ्चालनमा रहेको दंगीशरण दुना टपरी उद्योगले स्थानीय वनमा पाइने सालका पातलाई उत्पादनसँग जोडेर रोजगारी र आयआर्जनको अवसर सिर्जना गरेको हो।
हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित उद्योगले विगत दुई वर्षदेखि सालका पातबाट दुना–टपरी उत्पादन गर्दै आएको छ। राजाकोट–टिलकन्या सामुदायिक वनबाट सालका पात सङ्कलन गरी दैनिक करिब १ हजार ५०० थान दुना–टपरी उत्पादन हुने गरेको उद्योगका प्रबन्धक चक्रमिलन विश्वकर्माले बताए।
पात सङ्कलनदेखि दुना–टपरी उत्पादनसम्म स्थानीय २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। वनको छेउमा रहेको बस्तीका स्थानीयलाई वन पैदावारको सदुपयोगमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको विश्वकर्माले बताए।
वन तथा कृषि सहज कार्यक्रम र एफएओ नेपालको सहयोगमा ९ लाख ९० हजार रुपैयाँ बराबरका उपकरण तथा सङ्कलन केन्द्रको भवनसहित कुल २५ लाख रुपैयाँको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो। उद्योग सञ्चालनका लागि सहकारीले समेत लगानी गरेको छ।
सालका पातमा हुने धुलो, माटो तथा किरालाई उपकरणको प्रयोगमार्फत सफा गरिन्छ। सफा गरिएको पातबाट गुणस्तरीय दुना–टपरी उत्पादन गर्न सहज हुने उद्योगले जनाएको छ। प्रविधिको प्रयोगले पातको सफाइसँगै उत्पादनको गुणस्तर कायम गर्न समेत सहयोग पुगेको छ।
उद्योगले उत्पादन, कच्चा पदार्थ र कर्मचारीको खर्च कटाएर वार्षिक करिब २ लाख रुपैयाँ बचत गर्ने गरेको प्रबन्धक विश्वकर्माले बताए।
कलमखोलाको दक्षिणतर्फ ठूलो सामुदायिक वन छ। विगतमा स्थानीयको वनसँगको सम्बन्ध घाँस, दाउरा र अन्य वन पैदावार सङ्कलनमा सीमित रहे पनि अहिले सालका पात उत्पादन र आम्दानीको माध्यम बनेका छन्।
उद्योगमा काम गर्दै आएकी स्थानीय केवली खड्काले पनि गाउँमै रोजगारी पाएपछि आफ्नो सीपको सदुपयोग गर्न पाएको बताइन्।
“पहिले घाँसदाउरा र घरको काममै समय बित्थ्यो। अहिले कामसँगै आम्दानी पनि भएको छ,” उनले भनिन्, “घाँसदाउरा गर्न जाँदा सँगसँगै पात टिपेर ल्याउँछु। उद्योगमा बेच्दा त्यसबाट आम्दानी हुन्छ।”
स्थानीय वन पैदावार, सीप र प्रविधिलाई उत्पादनसँग जोडिएको उद्योगले कलमखोलाका महिलालाई घरनजिकै रोजगारीको अवसर दिएको छ। वनमा खेर जाने सालका पातबाट दुना–टपरी उत्पादन हुन थालेपछि स्थानीय महिलाका लागि सालको पात आयआर्जनको नयाँ आधार बनेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्