काठमाडौँ । सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराजसिंह थापालाई नियुक्त गरेको छ।
विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन्।
नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिए। उनी काठमाडौँ विश्वविद्यालयमा विगत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत थिए।
थापाले नर्वेबाट हाइड्रोपावर विषयमा विद्यावारिधि गरेका छन्।
शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि टिमवर्क र सक्रियताका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिए।
मन्त्री पोखरेलले काठमाडौँ विश्वविद्यालयलाई विशिष्टीकृत ट्रस्टी मोडलमा स्थापित गर्ने प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताए। नेपालको उच्च शिक्षा सुधारका लागि सबै विश्वविद्यालयबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
काठमाडौँ विश्वविद्यालयलाई अन्य विश्वविद्यालयभन्दा फरक पहिचानसहित अघि बढाउनुपर्ने बताउँदै मन्त्री पोखरेलले कक्षा १२ पछि विदेश अध्ययनका लागि जाने तयारीमा रहेका विद्यार्थीलाई नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको बताए।
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरणसँगै कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्