नुवाकोट । ‘बाढी आयो सर!’
कक्षाकोठामा पढाइरहेका शिक्षक दिलीपकुमार खतिवडाले सुरुमा विद्यार्थीको कुरा पत्याएनन्। नुवाकोटस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको माथिल्लो तलामा कक्षा ११ का विद्यार्थीलाई गणित पढाइरहेका उनलाई त्रिशूली नदी सामान्य नै देखिएको थियो।
‘खै, बाढी आएकै छैन। तिमीहरू यत्तिकै कराउँछौँ,’ उनले विद्यार्थीलाई भने।
तर विद्यार्थीहरूले लगातार बाढी आएको बताइरहे। शिक्षक खतिवडाले उनीहरूलाई नआत्तिन भन्दै तल जान भने। केही मिनेटपछि उनले देखेको दृश्य भने फरक थियो।
विद्यालय परिसरमा विद्यार्थीहरू जम्मा भइसकेका थिए। करिब १ हजार ६४३ विद्यार्थी अध्ययन गर्ने विद्यालयमा त्यस दिन करिब १ हजार २ सय विद्यार्थी विद्यालय आइपुगेका थिए।
तर त्यसबेला कसैलाई पनि अनुमान थिएन—केही मिनेटमै उनीहरू पढिरहेको विद्यालय त्रिशूली नदीको भेलमा विलीन हुँदैछ।
‘५० मिटरभन्दा अग्लो बाढी आयो’
विद्यालयमा कक्षा ११ र १२ को बिहानी कक्षा चल्थ्यो। कक्षा ८ देखि १० सम्मका विद्यार्थीका लागि पनि बिहान अतिरिक्त कक्षा सञ्चालन हुँदै आएको थियो।
बिहान करिब ९ बजे खाना खाने समय थियो। नजिक घर भएका विद्यार्थी घर जान्थे भने टाढाका विद्यार्थीका अभिभावकले खाना ल्याइदिने गरेका थिए।
त्यही समयमा एउटा बस विद्यालय आइसकेको थियो। अर्को बस त्रिशूली अस्पतालतर्फबाट आउँदै थियो। तर प्रधानाध्यापक राजेन्द्र दवाडीले बसलाई विद्यालयतर्फ नल्याउन निर्देशन दिए।
बिहान ९ बजेर २० मिनेटतिर शिक्षक खतिवडाले प्रधानाध्यापकलाई सोधे, ‘सर, कतैबाट आधिकारिक सूचना आएको हो?’
प्रधानाध्यापकको जवाफ थियो, ‘होइन, फोन आएको थियो।’
त्यसपछि खतिवडाले रसुवा जिल्ला अदालतमा कार्यरत आफन्तलाई फोन गरे। उताबाट आएको जवाफले सबैलाई झस्कायो।
‘५० मिटरभन्दा अग्लो बाढी आएको छ, तपाईंहरू तुरुन्त सुरक्षित ठाउँमा बस्नुहोस्।’
त्यसैबीच अर्की शिक्षिका सन्तोषी परियारलाई पनि उनकी बहिनीले फोन गरेर सुरक्षित रहन भनिन्। बेत्रावतीमा बैंकमा कार्यरत एक कर्मचारीका श्रीमानले समेत फोन गरेर बेत्रावती बगाइसकेको र आफू बल्लतल्ल बाँचेको भन्दै विद्यालयलाई तत्काल सुरक्षित ठाउँमा जान आग्रह गरे।
‘बाढी आएको देखेकै भनेपछि शरीर नै चिसो भयो,’ खतिवडाले सम्झिए।
दुई मिनेटमा निर्णय, १५ मिनेटमा उद्धार
प्रधानाध्यापक दवाडीका अनुसार चार फरक व्यक्तिबाट एउटै किसिमको सूचना आएपछि विद्यार्थीलाई तत्काल विद्यालयबाट निकाल्ने निर्णय गरियो।
‘वेत्रावतीमा सबै बगाइसक्यो, ठूलो बाढी आउँदैछ भनेर फोन आएको आयो। रसुवा घर भएका एक शिक्षक बाढी आयो भन्दै कक्षाबाट आत्तिँदै बाहिर निस्किए। लेखाका कर्मचारी र एक अभिभावक पनि बाढी आयो भन्दै विद्यालयमा आए,’ उनले भने, ‘चार जनाबाट एउटै कुरा आएपछि विद्यार्थीलाई बाहिर निकाल्ने निर्णय गर्यौँ।’
उनका अनुसार सूचना आएको दुई मिनेटभित्रै विद्यालय खाली गर्ने निर्णय गरिएको थियो।
कतिपय विद्यार्थीले ‘बाढी कहाँ स्कुलसम्म आउँछ र?’ भन्दै प्रश्न गरेका थिए। केही विद्यार्थी त बाढीको फोटो खिच्नसमेत खोजिरहेका थिए।
तर विद्यालय प्रशासनले उनीहरूलाई फोटो खिच्न दिएन। झोला लिनसमेत कक्षामा फर्कन नदिई सबैलाई तत्काल विद्यालयबाट बाहिर निकालियो।
प्रधानाध्यापकसहित शिक्षकहरूले करिब १० देखि १५ मिनेटमै विद्यार्थीलाई विद्यालय परिसरबाट सुरक्षित स्थानतर्फ पठाए।
त्यस क्रममा होटल म्यानेजमेन्ट अध्ययन गर्ने एक विद्यार्थी बेहोस भएकी थिइन्। उनलाई स्कुटरमा राखेर विद्यालयबाट बाहिर निकाल्नसमेत भ्याइएको थियो।
गेटभन्दा तल पुगिसकेको थियो लेदो
विद्यालयबाट बाहिर निस्कँदा अवस्था झनै भयावह भइसकेको थियो।
‘बाहिर निस्कँदा विद्यालयको गेटभन्दा १०–१५ मिटर तल लेदो आइसकेको थियो,’ शिक्षक खतिवडाले भने।
उनीहरू माथिल्लो भागमा रहेको हाइड्रोपावरको ड्यामतर्फ गए। त्यहाँ पुगेपछि तल हेर्दा उनीहरूले कल्पनै नगरेको दृश्य देखे।
विद्यालय भवन त्रिशूलीको भेलले बगाइसकेको थियो।
‘त्यहाँ पुगेर तल हेर्दा विद्यालय सबै बगाएर लग्यो। त्यो दृश्य सम्झिँदा अहिले पनि निकै डर लाग्छ,’ खतिवडाले भने।
उनका अनुसार बिहान ९ बजेर ३५ मिनेटतिर विद्यालय पूर्ण रूपमा बाढीमा बगिसकेको थियो। विद्यालयमै रहेका विद्यार्थीहरूलाई केही मिनेटअघि मात्रै सुरक्षित स्थानमा सारिएको थियो।
‘स्कुलमा हुँदा नै त्रिशूलीको पुलमा बाढीको छालले हानिसकेको रहेछ,’ उनले भने।
प्रधानाध्यापक दवाडीका अनुसार तत्काल निर्णय लिन नसकेको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो।
‘बाँच्न १० सेकेन्ड मात्रै बाँकी थियो’
कक्षा ११ मा अध्ययनरत युनिसा अमात्यका लागि त्यो बिहानको घटना जीवनभर नबिर्सिने अनुभव बनेको छ।
उनी त्रिशूली हुँदै विद्यालय आउने क्रममा थिइन्। बाटोमै बाढी आएको देखेपछि साथीहरूसँग भागिन्।
केही समयमै बाढीले उनी पढ्ने विद्यालय नै बगायो।
‘कता जानु, के गर्नु, प्रोसेस नै गर्न सकिनँ। एक्कासि आयो,’ उनले भनिन्, ‘बाँचियो। आफ्नो आमाबुवासँग छु।’
उनका अनुसार आफू केही सेकेन्डले मात्रै जोगिएको महसुस भइरहेको छ।
शिक्षकसहित तीन जना अझै बेपत्ता
विद्यालयका शिक्षक दिलीपकुमार खतिवडाका अनुसार बाढीपछि विद्यालयसँग सम्बन्धित एक विद्यार्थी, एक शिक्षक र एक कार्यालय सहयोगी अझै सम्पर्कविहीन छन्।
कक्षा ११ मा अध्ययनरत विद्यार्थी विद्यालयबाट सुरक्षित रूपमा बाहिर निस्किएका थिए। तर उनकी आमाको टेलर त्रिशूली पुलनजिकै रहेकाले ‘ममीलाई लिएर आउँछु’ भन्दै उनी त्यतैतर्फ गएका थिए। त्यसपछि उनी सम्पर्कमा आएका छैनन्।
त्यस्तै, केही समयअघि मात्रै विद्यालयमा पोस्टिङ भएका निम्न माध्यमिक तहका शिक्षक सन्तोष परियार पनि बेपत्ता छन्।
‘भर्खरै पोस्टिङ भएर आउनुभएको सन्तोष परियार सर पनि बेपत्ता हुनुहुन्छ। अतिरिक्त कक्षा पढाउन आउनुभएको थियो। बिहान ८ बजेसम्म विद्यालयमै हुनुहुन्थ्यो। खाना खान कोठामा जानुभएको थियो। उहाँसँग पनि सम्पर्क हुन सकेको छैन,’ खतिवडाले भने।
एक कार्यालय सहयोगी पनि बाढीपछि सम्पर्कविहीन रहेको उनले बताए।
बाढीका कारण कति विद्यार्थी अभिभावकविहीन वा आफन्तबाट छुट्टिएका छन् भन्ने विवरण भने अझै यकिन हुन सकेको छैन।
एउटा निर्णयले जोगियो विद्यालयका सयौँ जीवन
त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा त्यो बिहान करिब १ हजार २ सय विद्यार्थी उपस्थित थिए। उनीहरूलाई केही मिनेटभित्रै विद्यालयबाट बाहिर निकालेर सुरक्षित स्थानमा लैजान सकिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।
विद्यालय भवन भने त्यसको केही मिनेटमै त्रिशूलीको भेलमा बग्यो।
यो घटना विपद्का बेला समयमै आएको सूचना, तत्काल निर्णय र छिटो उद्धारको महत्वको एउटा गम्भीर उदाहरण बनेको छ।
बाढी आउनुअघि विद्यालय प्रशासनले जोखिमको पूर्ण आकलन गर्न नसके पनि विभिन्न स्रोतबाट आएको सूचनालाई गम्भीरतापूर्वक लिएर दुई मिनेटमै विद्यालय खाली गर्ने निर्णय गर्यो। त्यही निर्णयले सम्भावित ठूलो मानवीय दुर्घटना टारेको शिक्षक तथा प्रधानाध्यापकहरूको भनाइ छ।
तर विद्यालय बगेसँगै तीन जना अझै बेपत्ता हुनु र विद्यार्थी तथा शिक्षकका परिवारमा परेको क्षतिले उक्त घटनाको पीडा भने अझै समाप्त भएको छैन।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्