काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक विराज सिंह थापालाई नियुक्त गरेको छ।
विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गर्नुभएको हो। नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
थापा विगत २२ वर्षदेखि काठमाडौं विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले नर्वेबाट हाइड्रोपावर विषयमा विद्यावारिधि (पीएचडी) गर्नुभएको छ।
शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि टिमवर्क र सक्रियताका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभयो। उहाँले काठमाडौं विश्वविद्यालयलाई विशिष्टीकृत ढाँचाको ट्रस्टी मोडलमा स्थापित गर्ने प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. विवेक बरालसहित मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो। काठमाडौं विश्वविद्यालयका उपकुलपति बराल पनि हालै प्रधानमन्त्री तथा कुलपति शाहको सिफारिसमा नियुक्त हुनुभएको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्