काठमाडौं । विपद्का कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्तिमा देखिएको समस्या समाधान गर्न नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ।
देशका विभिन्न महत्वपूर्ण सडक अवरुद्ध हुँदा उद्योगी तथा व्यवसायीलाई सामग्री ढुवानी र आपूर्ति व्यवस्थापनमा कठिनाइ भएपछि चेम्बरले जमलस्थित सचिवालयमा सहजीकरण डेस्क सञ्चालनमा ल्याएको हो।
चेम्बरका अनुसार डेस्कमार्फत राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीका क्रममा देखिने सम्भावित समस्या समाधानका लागि सम्बन्धित सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यावसायिक प्रतिष्ठान तथा ढुवानी व्यवसायीसँग आवश्यक समन्वय गरिनेछ।
त्यसैगरी, अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई सम्भव भएसम्म सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन आवश्यक सहजीकरण गरिने चेम्बरले जनाएको छ।
पृथ्वी राजमार्गलगायत देशका विभिन्न महत्वपूर्ण सडकखण्ड बाढीपहिरोका कारण प्रभावित भएपछि खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित भएको छ। यस्तो अवस्थामा आपूर्ति प्रणालीलाई निरन्तरता दिन निजी क्षेत्र र सरकारी संयन्त्रबीच समन्वय आवश्यक रहेको चेम्बरले जनाएको छ। नेपाल चेम्बर अफ कमर्सले यसअघि पनि विपद् व्यवस्थापन तथा राहतका क्षेत्रमा सरकारी तथा अन्य निकायसँग सहकार्य गर्दै आएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्