महोत्तरी । बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टको हातबाट मोबाइल छुटेको छैन। छिनछिनमा मोबाइलको स्क्रिनमा आँखा पुर्याउँछिन्। भोटेकोशी बाढीमा सम्पर्कविहीन भएका छोरा सौभाग्यको फोन आउँछ कि भन्ने आशामा उनको दिन बितिरहेको छ।
एक साता बितिसक्दा पनि घरमा चुल्हो बलेको छैन। परिवारका सदस्यका आँखा ओभाएका छैनन्।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत सौभाग्य भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन्।
“बाबुले मामु, ठिकै छु भनेर फोन गरिहाल्छ कि भन्ने लाग्छ। एकछिन यो मोबाइल छाडेकी छैन,” सरिताले भनिन्, “अहिले सौभाग्यबाहेक कुनै कुरा सम्झन सक्दिनँ।”
भदौ १० गते बिहान छोरासँग कुरा भएको सम्झिँदै उनले त्यसपछि सम्पर्क हुन नसकेको बताइन्। “बाढीको खबर आउन थालेपछि सम्पर्क गर्न चाह्यौँ। त्यो दिन बिहान ९ बजेपछि बाबुसँग सम्पर्क हुन सकेको छैन,” उनले भनिन्।
छोराको खोजीमा उनका बुबा ध्रुव बिष्ट र मावलीघरका आफन्त रसुवा पुगेका छन्।
“एकचोटि त भन्दियोस्, मामु म फसेको थिएँ, अब निस्केँ,” सरिताले भनिन्, “सौभाग्यको यति वचन सुन्ने अभिलाषाले एकछिन मोबाइल छाडेकी छैन।”
मेकानिकल इन्जिनियर सौभाग्यको आम्दानीबाट परिवार चल्दै आएको थियो। सामान्य आर्थिक अवस्था रहेको बिष्ट परिवारका लागि उनी परिवारको मुख्य सहारा थिए।
जोयाको खोजीमा बुबाले हेलिकोप्टरबाट लगाए कैयौँ फेरा
बर्दिबास–९ पशुपतिनगरको गोमस्ता टोलमा पनि एक सातादेखि घरको चुल्हो बलेको छैन।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनामै कार्यरत जोया रानासँग भदौ १० गते बिहान ९ बजेपछि सम्पर्क हुन सकेको छैन। त्यसयता उनको परिवारमा सन्नाटा छाएको छ।
“सन्तानका नाममा तीनवटी छोरी छन्। अलि लेखपढ भएकी हुँदा जोयाकै भरमा परिवार चलेको छ,” उनका पिता खिलबहादुर राना मगरले भने, “जसमाथि जिन्दगी सुम्पन्न खोज्थेँ, उही सम्पर्कविहीन भएकी छ।”
छोरीको खोजीमा खिलबहादुरले आफैँ हेलिकोप्टर भाडामा लिएर रसुवा र नुवाकोटका त्रिशूली किनारमा कैयौँ फेरा लगाए। तर अहिलेसम्म छोरीको अवस्थाबारे कुनै जानकारी पाउन सकेका छैनन्।
गङ्गारामको एक वचनको प्रतीक्षामा आमा, पत्नी र चार छोराछोरी
मटिहानी–७ का ४० वर्षीय गङ्गाराम मण्डलको परिवार पनि अहिले उनको एक वचन सुन्न पर्खिरहेको छ।
गङ्गारामले भदौ ९ गते फोन गरेर आफू गोसाइँकुण्ड जान लागेको बताएका थिए। त्यसपछि उनी सम्पर्कविहीन छन्।
“भदौ ९ गते ‘म गोसाइँकुण्ड जाँदैछु’ भनेर फोन गर्नुभएको थियो। त्यसपछि उहाँसँग सम्पर्क भएको छैन,” उनकी पत्नी गुञ्जा मण्डलले भनिन्।
गङ्गाराम काठमाडौंस्थित रिचा टुर्स कम्पनीमा भान्सेको काम गर्थे। उनी कम्पनीका पाहुनासँगै भदौ ९ गते रसुवा गएका थिए।
आमा, पत्नी र चार छोराछोरी उनको खबरको प्रतीक्षामा छन्। परिवारको एकमात्र सहारा गङ्गाराम सम्पर्कविहीन भएपछि घरमा बेचैनी बढेको छ।
हशनको फोन आउने आशामा परिवार
जलेश्वर–७ का हशन अन्सारी पनि भदौ १० गते बिहान ९ बजेपछि सम्पर्कविहीन छन्।
रसुवाको एक जलविद्युत् आयोजनामा मेकानिकको काम गर्ने हशनले अन्तिमपटक भदौ ९ गते आमा मुलिमा खातुनलाई फोन गरेका थिए।
केही दिनभित्रै एक साताको बिदामा घर आउने बताएका हशनको कुरा उनका पिता माजिद अन्सारी सम्झिरहेका छन्।
“दिनदिनै घरमा फोन गर्थ्यो। भदौ १० पछि पनि फोन आउने प्रतीक्षामा छौँ,” माजिदले भने, “भदौ १० यता घरमा चुल्हो बलेको छैन। आफन्त जो आउँछन्, घरमा सबैका आँखा टिलपिलाएका हुन्छन्।”
कसैले हशनबारे राम्रो खबर सुनाउला कि भन्ने आशामै परिवारको दिन बितिरहेको छ।
महोत्तरीका १३ जना अझै सम्पर्कविहीन
भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटमा सम्पर्कमा आएका महोत्तरीका १८ जनालाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित रूपमा परिवारको सम्पर्कमा पठाइसकेको छ।
त्यसबाहेक सम्पर्कविहीन रहेका १९ जनामध्ये छ जना परिवारको सम्पर्कमा आइसकेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
“अब महोत्तरीका १३ जना सम्पर्कविहीन हुनुहुन्छ। उहाँहरूको खोजी र सम्पर्कको प्रयास निरन्तर भइरहेको छ,” यादवले भने, “विश्वास गरौँ, सबै सकुशल भेटिनुहोस्।”
भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजना तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। उनीहरूका परिवार भने फोनको घण्टी बज्ने र प्रियजनले ‘म सकुशल छु’ भन्ने खबर दिने प्रतीक्षामा छन्।
(रासस)
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्