काठमाडौं । जापान सरकारले भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि विभिन्न राहत तथा मानवीय सहायता सामग्री नेपाललाई उपलब्ध गराएको छ।
नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त सहायता सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्।
जापानी दूतावासका अनुसार राहत सामग्रीमा कम्बल, प्लास्टिकका त्रिपाल, सुत्ने प्याड, पाललगायतका अत्यावश्यक सामग्री रहेका छन्। बाढी तथा पहिरोका कारण घरबारविहीन भएका र अस्थायी आश्रयमा रहेका प्रभावितका लागि यी सामग्री उपयोगी हुने अपेक्षा गरिएको छ।
यसअघि भोटेकोसी बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाह र जापानका प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता भएको थियो। वार्ताका क्रममा जापानी प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा जापान सरकार सहयोग विस्तार गर्न तयार रहेको बताएका थिए।
प्रधानमन्त्री शाहले बाढीको विपत्तिका बेला जापान सरकार र जापानी जनताबाट प्राप्त ऐक्यबद्धता तथा सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।
भोटेकोसी बाढीपछि नेपालका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। विपद्पछिको पुनःस्थापना तथा प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायबाट सहयोग आउने क्रम जारी छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्