काठमाडौं । अमेरिकी रिपब्लिकन सिनेटर थम टिलिसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रक्षामन्त्री पिट हेगसेथलाई बर्खास्त गर्न आग्रह गर्नुभएको छ।
इरानसँग जारी युद्धका बीच हेगसेथको नेतृत्वमा अमेरिकी सेनामा नेतृत्वको शून्यता सिर्जना भएको आरोप लगाउँदै टिलिसले नयाँ रक्षामन्त्री नियुक्त गर्न ट्रम्पलाई आग्रह गर्नुभएको हो।
नर्थ क्यारोलिनाका सिनेटर टिलिसले सामाजिक सञ्जालमार्फत हालै राजीनामा दिएका अमेरिकी सेना सचिव ड्यान ड्रिस्कलको प्रसंग उठाउँदै हेगसेथको कार्यशैलीको कडा आलोचना गर्नुभएको छ।
टिलिसले सेनामा कार्यरत सैनिक तथा अधिकारीको व्यवस्थापनमा आफूले यति ठूलो अक्षमता यसअघि कहिल्यै नदेखेको दाबी गर्नुभएको छ। उहाँले हेगसेथ राष्ट्रिय रक्षा र सेनाको हितमा केन्द्रित हुनुभन्दा ‘सांस्कृतिक युद्ध’लाई प्राथमिकता दिएको आरोप लगाउनुभएको छ।
उहाँले ट्रम्पलाई सेनाभित्रको दक्ष जनशक्ति घटाउने होइन, त्यसलाई जोगाउने र सशक्त बनाउने नयाँ नेतृत्व खोज्न आग्रह गर्नुभएको छ।
ड्रिस्कलले सोमबार राजीनामा दिनुभएको थियो। उहाँको राजीनामापछि अमेरिकी सेनाको नेतृत्व संरचनाबारे थप प्रश्न उठेका छन्। टिलिसले ड्रिस्कललाई ‘सही समयमा सही व्यक्ति’ भन्दै प्रशंसा गर्नुभएको थियो।
हेगसेथको नेतृत्वमा उच्च तहका सैन्य अधिकारीहरूको बिदाइ र बर्खास्तगी बढेको भन्दै अमेरिकी सांसदहरूले पछिल्लो समय चिन्ता व्यक्त गर्दै आएका छन्। इरानसँगको युद्धका कारण अमेरिकी सेनामाथि थप परिचालन तथा स्रोत व्यवस्थापनको दबाब रहेका बेला पेन्टागनको नेतृत्वमा देखिएको विवाद थप चर्चामा आएको छ।
टिलिस स्वयं ट्रम्पकै रिपब्लिकन पार्टीका सदस्य भए पनि पछिल्ला वर्षमा ट्रम्प प्रशासनका केही नीति र निर्णयका मुखर आलोचक बन्दै आउनुभएको छ। यद्यपि, उहाँले २०२५ मा हेगसेथलाई रक्षामन्त्री बनाउने प्रस्तावको पक्षमा मतदान गर्नुभएको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्