पर्वत । परिवारलाई अझै आशा थियो–‘शिव कतै सुरक्षित होलान्, मोबाइलमा चार्ज सकिएको होला । फर्किएर फोन गर्दै भन्नेछन्–‘म जोगिएर आएँ, पीर नमान्नु ।’
तर त्यो आशा विस्तारै निराशामा बदलियो।
पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाका ४८ वर्षीय शिव लम्साल भदौ १० गते रसुवाको स्याफ्रुबेँसीमा आएको विनाशकारी बाढीमा बेपत्ता भए । गोसाईंकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित एनआइएमबी बैंकको शाखामा कार्यरत लम्साल कार्यालयमै रहेका बेला आएको बाढीले बगाएको परिवारले जनाएको छ।
बाढीमा बेपत्ता भएको खबर पाएपछि परिवारले छ दिनसम्म शिवको खोजी गर्यो। पोखरा, चितवनलगायतका स्थानमा पुगेर बाढी तथा पहिरोपछि फेला परेका शव नियालियो। सम्भावित स्थानमा खोजी भयो, आफन्त तथा चिनेजानेकासँग सोधपुछ गरियो। मोबाइल सम्पर्क हुन्छ कि भनेर प्रतीक्षा गरियो।
तर कतैबाट शिवको खबर आएन।
परिवारले अस्पतालमा राखिएका शवसमेत नियाल्यो। हरेक शवमा शिवको अनुहार खोजियो। तर पहिचान हुन सकेन। न सास भेटियो, न शव।
शिवकी श्रीमती सृजनाको मनले भने अझै पनि उनी फर्केर आउने आशा छाडेको थिएन। तर लामो समयसम्म अनिश्चितताको पीडा बोकेर बस्नुपर्ने अवस्था आएपछि परिवारले अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गर्यो।
मंगलबार मोदीवेणी धाममा शिवको कुशको आकृति बनाएर अन्त्येष्टि गरिएको हो।
शिवको वास्तविक शरीर थिएन। अन्तिमपटक छुन सकिने उनका भौतिक अंग पनि थिएनन्। तर परिवारले कुशकै आकृतिलाई शिवको प्रतीक मानेर अन्तिम बिदाइ गर्यो। घाटमा पुगेका आफन्त, परिवारका सदस्य र गाउँलेका आँखामा आँसु थियो।
शिवका २१ वर्षीय छोरा सस्मित अहिले बुबाको काजकिरियामा छन्। हिन्दू संस्कारअनुसार बुबाको शवलाई काँध दिएर अन्तिम यात्रामा लैजानुपर्ने छोराले बुबाको शवसमेत देख्न पाएनन्। अन्ततः कुशबाट बनाइएको आकृतिलाई नै बुबाको प्रतीक मानेर उनले काजकिरिया गरिरहेका छन्।
श्रीमती सृजनाको अवस्था पनि सामान्य छैन। श्रीमान् कहाँ छन् भन्ने अनिश्चिततामा दिन बिताएकी उनले अन्ततः श्रीमान्को शवसमेत नदेखी अन्तिम संस्कार गर्नुपरेको छ।
शिवका आफन्त ओमकार पौडेलका अनुसार सृजनाको अवस्था निकै दर्दनाक छ।
‘भाउजू रुँदारुँदा शरीर नै फुलेको छ, आँखा सुन्निएका छन्, जति बेला पनि आँखा रसाइरहेका छन्,’ पौडेलले भने, ‘शोकले उहाँ अझै पनि बेहोसजस्तै अवस्थामा हुनुहुन्छ।’
शिवलाई खोज्ने क्रममा आफूहरूले सुरुदेखि नै ‘सास वा लास’मध्ये एउटा भेटिने आशा राखेको पौडेलले बताए।
‘शिव मेरो फुपूको छोरा हो। हामीले सुरुदेखि नै सास कि लास भेटाउने आशामा धेरै ठाउँमा पुगेर खोज्यौँ,’ उनले भने, ‘उहाँ बाढीमा परेको थाहा थियो, तर त्यसपछिको अवस्थाबारे केही जानकारी पाउन सकिएन।’
अस्पतालमा पुगेर फेला परेका शवहरू नियाल्दै पहिचानको प्रयास गरे पनि शिवको शव भेट्न नसकेको उनले बताए।
‘शव भेटिए कम्तीमा अन्तिम बिदाइ गर्न पाइन्थ्यो। तर त्यो पनि सम्भव भएन,’ पौडेलले भने।
परिवारमा बढ्दै गएको पीडा र सृजनाको अवस्था देखेर छ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरिएको उनले बताए।
‘शोकमा रहेको परिवार लामो समयसम्म यही अनिश्चितताको पीडामा बस्न सक्ने अवस्था थिएन,’ उनले भने, ‘उहाँको दिवंगत आत्माले शान्ति पाओस् भनेर कुशको शव बनाएर भए पनि अन्तिम संस्कार गर्यौँ।’
शिवको परिवारमा बुबा गोपीनाथ, श्रीमती सृजना, छोरा सस्मित र एक छोरी छन्।
शिवको बाढीमा बेपत्ता भएको खबरपछि मुडिकुवा गाउँ नै शोकमा डुबेको छ। परिवारले शिवको वास्तविक शव फेला नपारे पनि उनको सम्झनालाई कुशको आकृतिमा समेटेर अन्तिम बिदाइ गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्