काठमाडौं । नेकपा (एमाले)की सांसद यशोदाकुमारी बरालले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अपनाएको एकद्वार प्रणालीका कारण जनता भोकै बस्नुपरेको बताएकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाढीमा सम्पर्कविहीन भएका आफन्तको खोजीका लागि प्रभावित क्षेत्रमा पुगेका नागरिकले समेत उचित राहत पाउन नसकेको बताइन्। नागरिकभन्दा ठूलो कुनै सरकार वा व्यक्ति हुन नसक्ने भन्दै बरालले नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरिन्। प्रविधिको अभाव देखाउँदै सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने उनको भनाइ थियो। सम्पर्कविहीन आफन्तको खोजीमा प्रभावित क्षेत्रमा रहेका नागरिकले समेत खान नपाएको उनले बताइन्। बरालले सुरुङभित्र भइरहेको खोज तथा उद्धार कार्यलाई तीव्रता दिनसमेत सरकारसँग आग्रह गरिन्। “सुरुङभित्र रहेका नागरिक अहिले पनि जीवित हुनुहुन्छ भन्ने आशा छ,” उनले भनिन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्