ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवामा बाढीको ८ दिन : राहतभन्दा ठूलो प्रतीक्षा—‘आफ्ना मान्छे जीवित छन् कि छैनन् ?’


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ८ : १५   बजे

रसुवा । कालिका गाउँपालिका–२ का लाकुराम मोक्तानको मोबाइलमा केही दिनअघि नारायणी नदी किनारमा भेटिएको शवको तस्बिर आयो ।

सामाजिक सञ्जालमा फैलिएको तस्बिर उनका आफन्तले पठाएका थिए । प्रश्न थियो– “यो तिम्रो छोरा मिङ्जा मोक्तानको शव त होइन ?”

लाकुरामले तस्बिर हेरे । झट्ट हेर्दा आफ्नै छोरा हो कि जस्तो लाग्यो । तर, त्यसको यकिन गर्ने उनीसँग कुनै उपाय छैन । चितवन पुगेर शव हेर्ने अवस्था छैन । आधिकारिक रूपमा शवको पहिचानबारे जानकारी दिने निकाय कहाँ हो भन्ने पनि उनलाई थाहा छैन ।

मिङ्जा त्रिशूली नदी किनारमा निर्माणाधीन जलविद्युत् आयोजनामा स्टोरकिपरका रूपमा काम गर्थे । बाढी आउँदा उनले नै साथीहरूलाई उठाएर खतरा आएको सूचना दिएको उनका साथीहरूले लाकुरामलाई सुनाएका थिए ।

अरूलाई जोगिन खबर दिने छोरा नै अहिले बेपत्ता छन् ।

त्यसैले लाकुरामको मनले न मृत्यु स्वीकार्न सकेको छ, न जीवितै छन् भन्ने आशा छाड्न सकेको छ ।

‘सास नभए लास मात्रै भेटे पनि मन सन्तोष हुन्थ्यो’

कालिका–२ कै शर्मिला लोम्चनका श्रीमान् मैलुङस्थित जलविद्युत् आयोजनामा काम गर्थे । भोटेकोसीमा बाढी आएको दिनदेखि उनी सम्पर्कविहीन छन् ।

उनीसँगै काम गर्ने केही साथीहरू भेटिएका छन् । तर, उनका श्रीमानको कुनै खबर छैन ।

शर्मिलाको मनमा भने अझै एउटा आशा बाँकी छ ।

सायद उनी कतै जंगलमा खुट्टा भाँचिएर बसेका छन् कि ?
सायद उद्धारको प्रतीक्षामा छन् कि ?

“मेरो मान्छेको अवस्थाको बारेमा चाँडो थाहा पाउन पाए हुन्थ्यो । सास नभए लास मात्रै भेटे पनि मन सन्तोष हुन्थ्यो,” उनी भन्छिन् ।

तर, श्रीमान् जीवित छन् कि छैनन् भनेर कसलाई सोध्ने ? कहाँ जाने ? उनलाई थाहा छैन ।

‘जीवित छन् भन्ने विश्वास छ, रसुवागढी पुर्‍याइदिए आफैं खोज्थेँ’

घुम्ती बजारकी श्रीमाया तामाङको कथा पनि उस्तै छ ।

कन्टेनर चालक उनका श्रीमान् रसुवागढी क्षेत्रबाट सम्पर्कविहीन छन् । श्रीमाया अझै पनि श्रीमान् जीवितै रहेको विश्वासमा छिन् ।

“त्यसदिन बिहान कुरा भएको थियो । उनीहरू रसुवागढी कटेकै थिएनन् । पारि (चीनतर्फ) नै भएकोले उनीहरूलाई केही भएको छैन भन्ने विश्वास छ,” उनी भन्छिन् ।

सरकारले प्रभावकारी खोजी नगरेको उनको गुनासो छ । अब अरूको प्रतीक्षा गर्नुभन्दा आफैं श्रीमान् खोज्न जाने उनको चाहना छ ।

तर, बाटो छैन ।

उनी स्याफ्रुसम्म पुग्न सक्छिन् । त्यहाँबाट रसुवागढीसम्म जाने अवस्था छैन ।

“रसुवागढी लगिदिए आफ्नो मान्छे आफैं खोज्ने थिएँ,” उनी भन्छिन् ।

तर, रसुवागढीसम्म पुर्‍याइदिन कसलाई भन्ने ? यसको उत्तर उनीसँग छैन ।

८ दिन बित्यो, खबर दिने कोही आएन

राम्चे, धुन्चे, ठूलो भार्खु, सानो भार्खु, १२ घुम्तीलगायत रसुवाका बस्तीमा अहिले एउटै प्रश्न छ–

“हाम्रा मान्छे कहाँ छन् ?”

बाढीले यी सबै बस्ती बगाएको होइन । यहाँका मानिसहरू रोजीरोटीका लागि नदी किनारमा पुगेका थिए ।

कोही बाढीमा परे । कोही उद्धारपछि कतै पुगेका हुन सक्छन् । कोहीको शव अन्य जिल्लामा भेटिएको हुन सक्छ ।

तर, कुनै व्यक्ति जीवित छ वा छैन भन्ने आधिकारिक सूचना परिवारसम्म पुग्न सकेको छैन ।

घटना भएको आठ दिन बितिसक्दा पनि सरकारका प्रतिनिधि प्रभावित परिवारको आँगनसम्म पुगेर “तपाईंको परिवारबाट कति जना हराए ? कहाँ काम गर्थे ? कसको खोजी भइरहेको छ ?” भनेर सोध्न नआएको स्थानीयको गुनासो छ ।

हेलिकप्टर उडिरहेछन्, तर खबर आउँदैन

गोसाइँकुण्ड गाउँपालिका–५ को १२ घुम्तीका फुर्वासिंग्ने तामाङका एक्ला छोरा पेम्बा तामाङ पनि सम्पर्कविहीन छन् ।

छोराको अवस्था बुझ्न उनकी बुहारी साइप्रसबाट नेपाल आउँदैछिन् । तर, फुर्वालाई आफ्नै छोराको अवस्था बुझ्न कहाँ जाने भन्ने थाहा छैन ।

बाढी आएको दिनदेखि उनको आँगनमाथिको आकाशमा मिनेट–मिनेटमा हेलिकप्टर उडिरहेका छन् ।

हरेकपटक हेलिकप्टरको आवाज आउँदा उनलाई लाग्छ–

“सायद यसपटक मेरो छोराको खबर लिएर आएको होला ।”

तर, अहिलेसम्म यकिन खबर लिएर कोही आएको छैन ।

राहतभन्दा ठूलो माग : ‘हाम्रा मान्छेको खबर देऊ’

अहिले रसुवाका धेरै परिवारका लागि चामल, दाल, नुन र तेलभन्दा ठूलो आवश्यकता बनेको छ– आफ्ना मान्छेको खबर ।

उनीहरूलाई आफ्ना आफन्त जीवित छन् कि छैनन् भन्ने एउटा सन्देश नै ठूलो राहत बन्न पुगेको छ ।

तर, धुन्चेभन्दा पारि मात्र होइन, वेत्रावती नजिकै रहेका उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाका प्रभावित परिवारसम्म पनि सरकारले यस्तो सूचना पुर्‍याउन नसकेको गुनासो छ ।

दुर्गम गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका बस्तीमा त सरकारी उपस्थितिको अपेक्षा झन् टाढाको विषय बनेको स्थानीय बताउँछन् ।

३४ जना बेपत्ता, आफन्तले आफैं काजक्रियाको तयारी थाले

ठूलो भार्खु र सानो भार्खुबाट मात्रै ३४ जना हराइरहेका छन् ।

भदौ १६ गते स्थानीय पीडितहरूको भेलाले अब सरकारको खबर पर्खेर बस्न नसक्ने निष्कर्ष निकालेको छ ।

बाढीपछि हराएकाहरू जीवित फर्किने सम्भावना अत्यन्त न्यून रहेको निष्कर्षमा पुगेका स्थानीयले धार्मिक संस्कारअनुसार काजक्रिया गर्नेबारे छलफल थालेका छन् ।

बाढीमा श्रीमती बेपत्ता भएका ठूलो भार्खुका केडी लामा भन्छन्–

“हाम्रा मान्छे जीवित फर्किने आशा असाध्यै न्यून छ । उनीहरूका बारेमा सोध्ने ठाउँ पनि छैन । अब धार्मिक संस्कारअनुसार उनीहरूको काजक्रियामा जानेबारे छलफल भएको छ ।”

कालिकास्थान र उत्तरगयाका स्थानीयले समेत बाढी आएको आठ दिनपछि कुशको शव बनाएर अन्त्येष्टि तथा काजक्रिया सुरु गरेका छन् ।

उत्तरगया–४ का माधव लामिछानेले बाढीमा आफ्ना इन्जिनियर छोरा र भाइ गुमाएका छन् । प्रभावकारी उद्धार नभएको भन्दै उनले उनीहरू जीवित फर्किने आशा मारेर किरियाकर्म सुरु गरेको बताए ।

स्थानीय सरकारसँग न शव पहिचानको अधिकार, न उद्धारको जिम्मेवारी

विपद्को सबैभन्दा नजिकको सरकार स्थानीय तह हो । तर, रसुवाका स्थानीय तहले आफूहरूलाई उद्धारदेखि शव पहिचानसम्मको काममा प्रभावकारी रूपमा परिचालन नगरिएको गुनासो गरेका छन् ।

उद्धार तथा राहतलाई एकद्वार गर्ने भन्दै धुन्चेस्थित नेपाली सेनाको ब्यारेकको कमान्डमा सेना र प्रहरी परिचालित छन् । जिल्ला प्रशासनिक संयन्त्र पनि प्रभावकारी रूपमा परिचालित हुन नसकेको स्थानीयको आरोप छ ।

स्याफ्रुबेसी, टिमुरे, घट्टेखोला र रसुवागढी क्षेत्रमा भेटिएका शव हेलिकप्टरमार्फत धुन्चे ल्याइएको छ ।

तर, ती शव कसका हुन् भनेर आफन्तले कसरी हेर्ने ?

सडक बन्द छ । सवारी साधन चल्दैनन् । शव हेर्ने र पहिचान गर्ने प्रक्रिया कहाँबाट सुरु गर्ने भन्ने जानकारीसमेत परिवारलाई छैन ।

स्थानीयलाई परिचालन गरेको भए शव नचिनिने गरी कुहिने थिएन’

कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा सरकारले शव संकलन तथा पहिचानमा स्थानीय सरकारलाई पर्याप्त भूमिका नदिएको बताउँछन् ।

“स्थानीय व्यक्ति यहीँको स्थानीयले चिन्छ । सरकारले शव संकलन र पहिचान गर्न स्थानीय सरकारलाई दिएको भए अहिले नचिनिने गरी शव कुहिने थिएन,” देवकोटा भन्छन् ।

उनका अनुसार स्थानीय युवालाई परिचालन गरेर शव संकलन, पहिचान र आफन्तको जिम्मा लगाउने व्यवस्था गर्न सकिन्थ्यो ।

“हाम्रा युवा परिचालन गरेर शव संकलन र पहिचान गरी आफन्तको जिम्मा लगाउँथ्यौँ,” उनी भन्छन्, “बाढीले बगाएको व्यक्तिलाई सरकारले झन् बेपत्ता बनाउने काम गरिरहेको छ ।”

रसुवामा अहिले विपद्को दोस्रो पीडा सुरु भएको छ– बाढीले मान्छे बगायो, तर राज्यको सूचना प्रणालीले उनीहरू कहाँ पुगे भन्ने खबर परिवारसम्म पुर्‍याउन सकेको छैन ।

त्यसैले प्रभावित परिवारको माग अहिले राहतको प्याकेजभन्दा पनि सरल छ– “पहिले हाम्रा मान्छे कहाँ छन् भनेर भनिदेऊ ।”

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

भोटेकोसी उद्धारमा पाँच देशका विज्ञ : सुरुङदेखि शव पहिचानसम्म विदेशी टोली सक्रिय

भोटेकोसी बाढीपीडित व्यवसायीलाई सरकारको राहत प्याकेज : कर छुटदेखि सस्तो कर्जासम्म

भोटेकोसीको पीडा सदनबाट विश्वमञ्चमा : ‘राहत होइन, क्षतिपूर्ति चाहियो’

वेत्रावती बजार : इतिहास, आस्था र व्यापार बगाएर ‘वेत्रावती बगर’ बनाएको भोटेकोसी (तस्बिर)

हिमाल अब केवल पग्लिँदै छैन, भत्किँदै पनि छ : जलवायु संकटको नयाँ खतरा

विपद्मा प्राथमिकता : जो आफैँ बच्न सक्दैन, उसलाई पहिले बचाऔँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu