रसुवा । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोज तथा उद्धार प्रयासमा महत्त्वपूर्ण प्रगति भएको छ ।
प्रतिनिधिसभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोली सुरुङको माथिल्लो भागतर्फबाट करिब १० मिटरभित्र प्रवेश गर्न सफल भएको हो ।
सुरुङभित्र प्रवेशका क्रममा देखिएका अवरोध हटाउन एक्स्काभेटरको प्रयोग भइरहेको छ । ब्लास्टिङमार्फत फुटाइएका ढुंगा तथा अन्य अवरोधलाई एक्स्काभेटरले पन्छाउने काम भइरहेको न्यौपानेले बताए ।
उनका अनुसार उद्धार टोली अब सुरुङको भुइँ तहसम्म पुग्न निकै नजिक पुगेको छ ।
“सुरुङको भुइँ तहसम्म पुग्न करिब नजिक छ,” न्यौपानेले भने ।
सुरुङभित्र लेदो, ढुंगा तथा अन्य भग्नावशेषका कारण उद्धार कार्य चुनौतीपूर्ण भए पनि नेपाली सुरक्षाकर्मीले खोजी तथा पहुँच विस्तारको कामलाई निरन्तरता दिइरहेका छन् ।
यसअघि सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि नेपालसहित विभिन्न देशका प्राविधिक तथा विशेषज्ञ टोलीसमेत परिचालित छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्