काठमाडौं । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हराइरहेकाहरूको खोज तथा उद्धारमा नेपालबाहेक पाँच देशका विशेषज्ञ टोली परिचालित भएका छन् ।
बाढी प्रभावित क्षेत्रमा भारत, चीन, दक्षिण कोरिया, सिंगापुर र इजरायलका विज्ञहरूले नेपाललाई खोज तथा उद्धार तथा मृतक पहिचानमा सहयोग गरिरहेका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोसी बाढीबारे जानकारी दिँदै विपद्का केही पक्षमा नेपालभित्र उपलब्ध क्षमताभन्दा बाहिरको विशेष दक्षता आवश्यक भएकाले अन्तर्राष्ट्रिय सहयोग मागिएको बताए ।
दुई क्षेत्रमा विशेष विदेशी सहयोग
नेपालले मुख्यतः दुई क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग मागेको थियो ।
पहिलो, बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार । दोस्रो, बाढीपछि फेला परेका शव तथा मानव अवशेषको पहिचानका लागि फोरेन्सिक तथा डीभीआई सहयोग ।
“भारत, चीन र दक्षिण कोरियाका विशेष टनेल उद्धार सहयोग टोलीहरू परिचालन गरी नेपाली सेनाको समन्वयमा काम भइरहेको छ,” मन्त्री खनालले कूटनीतिक समुदायलाई जानकारी दिए ।
कुन आयोजनामा कुन देशको टोली ?
परराष्ट्रमन्त्रीका अनुसार विभिन्न आयोजनामा छुट्टाछुट्टै विदेशी टोली परिचालित छन् ।
- लाङटाङ र चिलिमे जलविद्युत् आयोजना — भारतीय सुरुङ उद्धार टोली
- माथिल्लो त्रिशूली–३ ‘ए’ — चिनियाँ सुरुङ उद्धार टोली
- माथिल्लो त्रिशूली–१ — दक्षिण कोरियाली सुरुङ उद्धार टोली
इजरायलको एउटा टोलीले भने तल्लो तटीय क्षेत्रमा शव तथा मानव अवशेष खोजीमा सहयोग गरिरहेको छ ।
सुरुङ तथा प्रभावित क्षेत्र लेदो, भग्नावशेष र ठूला ढुंगाले भरिएकाले उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको मन्त्री खनालले बताए । खोज तथा उद्धारलाई तीव्र बनाउन थप उपकरण तथा लजिस्टिक सहयोगसमेत आउने क्रममा रहेको उनले जानकारी दिए ।
फोरेन्सिक पहिचानमा चार देशको सहयोग
बाढीपछि भेटिएका शव तथा मानव अवशेषको पहिचानका लागि पनि अन्तर्राष्ट्रिय विशेषज्ञ परिचालित छन् ।
मन्त्री खनालका अनुसार भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका टोलीले नेपाल प्रहरीसँग सहकार्य गरी मानव अवशेषको पहिचानमा सहयोग गरिरहेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारतबाट १९ सदस्यीय फोरेन्सिक टोली र चीनबाट पाँच सदस्यीय विशेष फोरेन्सिक टोली नेपाल आएका छन् ।
सिंगापुरको २४ सदस्यीय विपद् पीडित पहिचान (डीभीआई) टोलीमध्ये १९ जना नेपाली टोलीसँग मिलेर काम गरिरहेका छन् ।
उनीहरूले बाढीपछि संकलन गरिएका नमूनाको डीएनए संकलन, विश्लेषण तथा प्रतिवेदन तयार पार्ने कामलाई तीव्रता दिइरहेका छन् ।
ड्रोनसहित थप सिंगापुरे टोली आउँदै
सिंगापुरको डीभीआई टोलीका बाँकी सदस्यहरू ड्रोन तथा सम्बन्धित उपकरणसहित बिहीबार र शुक्रबारसम्म नेपाल आइपुग्ने प्रवक्ता क्षेत्रीले बताए ।
यसले दुर्गम तथा पहुँच कठिन भएका प्रभावित क्षेत्रमा खोजी र प्रमाण संकलनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, दक्षिण कोरियाका दुई फोरेन्सिक अधिकारी आवश्यक उपकरण तथा औजारसहित काममा जोडिएका छन् ।
‘विश्वभरको विशेषज्ञता उपयोग गरिरहेका छौँ’
नेपालले भोटेकोसी बाढीको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन देशभित्र तथा अन्तर्राष्ट्रियस्तरमा उपलब्ध विशेषज्ञता र स्रोतसाधनको अधिकतम उपयोग गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सुरुङभित्र फसेकाहरूको उद्धारदेखि शव तथा मानव अवशेषको पहिचानसम्म विभिन्न देशका विशेषज्ञ एउटै विपद् अभियानमा जोडिएका छन् ।
अहिले चुनौती केवल बाढीले पुर्याएको क्षति व्यवस्थापन गर्नु मात्र होइन, हराइरहेका व्यक्तिको अवस्था पत्ता लगाउनु र फेला परेका शवको वैज्ञानिक पहिचान गरी परिवारसम्म यकिन सूचना पुर्याउनु पनि बनेको छ ।
त्यसैले नेपालले अन्तर्राष्ट्रिय सहयोगलाई राहत सामग्रीमा मात्र सीमित नराखी विशेषज्ञ जनशक्ति, अत्याधुनिक उपकरण र प्राविधिक क्षमतासम्म विस्तार गरेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्