काठमाडौं । उद्योगीहरूले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको भन्दै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ १८ पैसा बढाएका छन्।
मूल्य वृद्धिसँगै काठमाडौं उपत्यकामा अब एक सिलिन्डर ग्यासको मूल्य २ हजार १६५ रुपैयाँ १८ पैसा पुगेको छ। यसअघि यसको मूल्य २ हजार ६० रुपैयाँ थियो। व्यवसायीका अनुसार नयाँ मूल्य आजैदेखि लागू भएको छ।
निगमको निर्णयले खुल्यो मूल्य बढाउने बाटो
नेपाल आयल निगमले भदौ १६ गते पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरे पनि एलपी ग्यासको ढुवानी दूरीअनुसार थप मूल्य लिन सक्ने व्यवस्था गरेको थियो।
निगमका अनुसार डिपो तथा कार्यालयबाट १५ किलोमिटर र एलपी ग्यास उद्योगबाट ५० किलोमिटरसम्मको दूरीका लागि साविककै मूल्य कायम गरिएको थियो। तर, ५० किलोमिटरभन्दा लामो दूरीमा ढुवानी गर्दा लाग्ने अतिरिक्त लागत उपभोक्ताबाट लिन सकिने व्यवस्था गरिएको थियो।
यही व्यवस्थालाई आधार बनाएर व्यवसायीहरूले ग्यासको मूल्य बढाएका हुन्।
निगमले भदौ १६ गते जारी गरेको विज्ञप्तिमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि ग्यासको मूल्य २ हजार ६० रुपैयाँ प्रतिसिलिन्डर कायम गरिएको उल्लेख गरेको थियो।
त्यसअघि जारी गरिएका निगमका विज्ञप्तिमा भने उद्योगबाट ५० किलोमिटरभन्दा परको दूरीमा ढुवानी लागतअनुसार ग्यासको मूल्य निर्धारण गर्न सकिने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको थिएन।
यससँगै पृथ्वी राजमार्ग अवरुद्ध भएको अवस्थामा बढेको ढुवानी खर्चको भार अन्ततः उपभोक्तामाथि परेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्