काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र भोटेकोसी बाढीपछि फसेका दुईजनालाई १० दिनपछि सकुशल उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।
उद्धार गरिएका ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जन हुन्। सप्तरीका साह आयोजनामा मेकानिकल फोरम्यान र काठमाडौंका महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।
नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त उद्धार टोलीले उनीहरूलाई सुरुङभित्रबाट जीवितै बाहिर निकालेको हो। उद्धारपछि दुवैजनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार भोटेकोसीमा बाढी आएको १०औँ दिन अर्थात् भदौ १९ गते बिहान उनीहरूको उद्धार गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले पनि दुवैजनाको सकुशल उद्धार भएको पुष्टि गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्