काठमाडौं । भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको १० दिनपछि आज जीवितै उद्धार गरिएको छ ।
उद्धार टोलीको अथक प्रयासपछि आयोजनाका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई आज बिहान सुरुङबाट बाहिर निकालिएको हो ।
दुवै जनाको सकुशल उद्धार भएपछि अन्य जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा फसेकाहरू पनि जीवितै रहेको आशा थप बलियो बनेको पूर्वऊर्जामन्त्री कुलमान घिसिङले बताउनुभएको छ ।
घिसिङले सामाजिक सञ्जालमार्फत रसुवागढी र चिलिमे जलविद्युत् केन्द्रका भूमिगत विद्युत्गृह तथा माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘बी’ र लाङटाङ खोला जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारलाई तत्काल तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले उद्धार कार्यमा विज्ञता, प्राविधिक क्षमता र उपलब्ध साधनस्रोतअनुसार हरसम्भव सहयोग भइरहेको जनाउँदै उद्धारमा खटिएका सुरक्षाकर्मी, प्राविधिक, उद्धारकर्मी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्