काठमाडौं । हिमाल, हिमनदी र हिमतालबारे लामो समयदेखि अध्ययन गर्दै आउनुभएका हिउँ वैज्ञानिक डा. नितेश खड्काले रसुवाको भोटेकोशीमा आएको बाढीले नेपालसहित विश्वका अन्य हिमाली मुलुकलाई समेत सचेत गराएको बताउनुभएको छ ।
यस्ता प्राकृतिक विपत्ति जुनसुकै हिमाली मुलुकमा आउन सक्ने भन्दै उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हिमाली देशहरूले साझा एजेण्डा बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपालले जलवायु कूटनीतिलाई थप प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै डा. खड्काले जलवायु परिवर्तनका कारण बढ्दै गएको प्राकृतिक जोखिमको क्षतिपूर्ति विकसित मुलुकले नेपाललाई उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
नेपालमा दुई हजार तीन सयभन्दा बढी साना–ठूला हिमताल रहेको र तीमध्ये धेरै जोखिमयुक्त अवस्थामा रहेको उहाँको भनाइ छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उच्च हिमाली क्षेत्रमा रहेका हिमताल जुनसुकै बेला फुट्न सक्ने भएकाले नेपाल निरन्तर प्राकृतिक जोखिममा रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार कर्णाली, गण्डकी र कोशीमध्ये कोशी जलाधार क्षेत्र हिमबाढी, हिमपहिरो र हिमताल विस्फोटको जोखिमका दृष्टिले बढी संवेदनशील रहेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्