काठमाडौं । बाढीका कारण ठूलो क्षति पुगेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार खोजी तथा उद्धारका क्रममा ६ जनाको शव फेला परेको छ।
सुरुङ तथा हेडवर्क्स क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा तालिमप्राप्त कुकुर, विशेष क्यामेरा, ड्रोन तथा उद्धार टोली परिचालन गरिएको थियो। खोजीका क्रममा सल्लेटार क्षेत्रमा ६ जनाको शव भेटिएको हो। नेपाली सेनाले ती शव बट्टार ल्याएको छ।
आयोजनामा उद्धारका लागि कोरियाली उद्धार टोली, शेर्पा समूह, सर्च तथा ड्रोन टोली परिचालन भएका छन्। कम्पनीले १५ वटा उद्धार मेसिन तथा आवश्यक उपकरणसमेत आयोजनास्थलतर्फ पठाएको जनाएको छ। सुरुङभित्र भने पानी निकाल्न वाटर पम्प सञ्चालन भइरहेको छ।
बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए। तीमध्ये हालसम्म ८७६ जनाको उद्धार भइसकेको छ भने ५५१ जना अझै सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
प्रवर्द्धक कम्पनी तथा निर्माण कम्पनी डोसान र पावर चाइनाको व्यवस्थापन टोलीले गृह सचिवसँग भेट गरी उद्धारका लागि थप उपकरण तथा मेसिन आयोजनास्थलसम्म लैजान आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको छ।
रसुवागढीमा उपकरण लैजान समस्या
त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा विद्युत्गृहमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी शुक्रबार पनि प्रभावकारी रूपमा सुरु हुन सकेन।
शेर्पाहरूको टोलीले खोजी प्रयास गरे पनि त्रिशूली नदीमा पानीको सतह उच्च रहनुका साथै खराब मौसमका कारण आवश्यक मेसिनरी तथा उपकरण आयोजनास्थलसम्म पुर्याउन नसकिएको हो।
आवश्यक उपकरण त्रिशूलीबाट धुन्चेसम्म पुर्याइए पनि त्यहाँबाट आयोजनास्थलसम्म लैजान कठिन भएको छ। धुन्चेबाट आयोजनास्थल पुगेर साँझ फर्कनसमेत कठिन हुने भएकाले शनिबारदेखि सर्जट्याङ्क रहेको अग्लो स्थानमा क्याम्प बनाएर उद्धार टोली बस्ने तयारी गरिएको रसुवागढी हाइड्रोपावर कम्पनीले जनाएको छ।
रसुवागढी आयोजनाबाट ९३ जना अझै सम्पर्कविहीन छन्।
माथिल्लो त्रिशूली–३ ‘बी’ मा १९१ जना बेपत्ता
३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि १० दिन बितिसक्दा बेपत्ता व्यक्तिहरूको अवस्था पत्ता लाग्न सकेको छैन।
आयोजनास्थलमा साना मेसिन प्रयोग गरेर उत्खनन गर्दा विद्युत्गृह रहेको क्षेत्रमा खोला पसेको पाइएको छ। त्रिशूली नदीको सतहदेखि दुई मिटरसम्म उत्खनन गर्दा विद्युत्गृहको संरचनासमेत फेला नपरेपछि अब १२ मिटरसम्म उत्खनन गर्ने तयारी गरिएको छ।
सुरक्षाकर्मीले सर्जट्याङ्कदेखि पेनस्टकसम्म खोजी गरे पनि अहिलेसम्म कुनै सुराक फेला पार्न सकेका छैनन्। अडिट सुरुङबाट थप मेसिनरी उपकरण लैजान सकिने सम्भावनाबारे पनि अध्ययन भइरहेको छ।
यस आयोजनाबाट १९१ जना सम्पर्कविहीन छन्। तीमध्ये फेवा कन्स्ट्रक्सनका १४१, त्रिशूली जलविद्युत् कम्पनीका २१ कर्मचारी, कर्मचारीका ७ परिवार सदस्य, चिलिमे इन्जिनियरिङका १२ जना, एक सुरक्षा गार्ड तथा काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपमा आएका तीन विद्यार्थी छन्।
यसैबीच, बाढी आएको १० दिनपछि माथिल्लो त्रिशूली–३ ‘ए’ को विद्युत्गृहमा फसेका सञ्जय साह र कविर महर्जनको २१६ घण्टापछि शुक्रबार जीवितै उद्धार भएको छ। अन्य बेपत्ताको खोजी तथा उद्धार जारी छ।
अन्य आयोजनामा पनि बेपत्ता
२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा हराइरहेका ४१ जनामध्ये दुई जनाको शव बिहीबार फेला परेको थियो। शुक्रबार नेपाली सेनाले सुरुङभित्र प्रवेश गरेर थप खोजी गरेको छ। यस आयोजनाबाट १९ जनाको उद्धार भइसकेको छ भने ३९ जनाको अवस्था अझै अज्ञात छ।
त्यस्तै, भूमिगत विद्युत्गृहमा ६ जना फसेको चिलिमे जलविद्युत् आयोजनाबाट पनि उद्धार हुन सकेको छैन। मैलुङखोला जलविद्युत् आयोजनाका ७ जना र निर्माणाधीन रसुवा भोटेकोशी आयोजनाका ४ जना पनि अझै सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्