काठमाडौं । नग्न तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै एक महिलाबाट झन्डै १० लाख रुपैयाँ असुलेको आरोपमा प्रहरीले काठमाडौंमा एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका क्षेत्रमा पर्ने सल्यानथान बस्ने २३ वर्षीय कमलबहादुर बुढा रहेका छन्।
प्रहरीका अनुसार बुढाले सामाजिक सञ्जालमार्फत एक महिलासँग सम्पर्क गरी आफू ‘ह्याकर’ भएको दाबी गरेका थिए। उनले ती महिलाका नग्न तस्बिर तथा भिडिओ आफूसँग रहेको भन्दै रकम मागेका थिए।
रकम नदिए उक्त सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै उनले पटक–पटक गरी ९ लाख ९५ हजार रुपैयाँ लिएकोप्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
महिलाबाट रकम असुलेको सम्बन्धमा सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बुढालाई पक्राउ गरेको हो।
प्रहरीले घटनामा आपराधिक लाभसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमा कसैको निजी तस्बिर वा भिडिओ रहेको भन्दै धम्की दिएर रकम माग्ने तथा असुल्ने कार्यलाई गम्भीर आपराधिक गतिविधिका रूपमा लिँदै अनुसन्धान अघि बढाएको जनाएको छ।

Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्