ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमाण्डर बाढीले बगायो, तर कर्तव्य रोकिएन : आफ्नै सहकर्मी गुमाएर पनि उद्धारमा सशस्त्र प्रहरी


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ५ : ५५   बजे

काठमाडौं :भोटेकोशीको भेलले रसुवाको टिमुरेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) नै बगाउँदा ड्युटीमा रहेका कमाण्डरसहित नौ सुरक्षाकर्मी सम्पर्कविहीन भए । आफ्नै कमाण्डर र सहकर्मी गुमाएको पीडा बोकेका सशस्त्र प्रहरी भने त्यसपछि पनि नागरिकको जीवन बचाउने कर्तव्यबाट पछि हटेनन् ।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले टिमुरेको भूगोल नै बदलिदियो । सञ्चार र विद्युत् सेवा ठप्प भए । सडक र पुल बगे । सरकारी संरचनासँगै सुरक्षाकर्मीका कार्यालय र बासस्थानसमेत क्षतिग्रस्त भए । बाहिरी संसारसँगको सम्पर्क टुटेको त्यही कठिन अवस्थामा पनि सशस्त्र प्रहरीले खोज तथा उद्धारको जिम्मेवारी निरन्तर अघि बढायो ।

बाढीमा बीओपीका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित दोस्रो कमान्डमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश न्यौपाने र अन्य सुरक्षाकर्मी सम्पर्कविहीन भए ।

तर, बीओपी तत्कालै नेतृत्वविहीन भएन । सशस्त्र प्रहरी सहायक निरीक्षक तामबहादुर थापा मगरले कमान्ड सम्हाल्दै उद्धार अभियान अघि बढाए ।

“बाढीले बीओपीसहित सबै संरचना छिनभरमै बगायो । कमाण्डरविहीन बनेका हामी खोज तथा उद्धारमा जुटिहाल्यौँ,” मगरले भने ।

आफैँ विपत्तिमा परेर पनि उद्धारमा

बाढीको भोलिपल्ट, भदौ ११ गते धुन्चेबाट सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमान्डमा थप टोली टिमुरे पुगेपछि खोज तथा उद्धार थप तीव्र बन्यो ।

त्यही टोलीले गोसाइँकुण्ड–२, टिमुरेकी छ वर्षीया मनिसा मगरलाई करिब ६० घण्टापछि माटोमुनिबाट जीवितै उद्धार गर्न सफल भयो ।

तीन दिनसम्म माटोमुनि पुरिएर पनि बालिका जीवित भेटिनु विपत्तिको बीचमा उद्धारकर्मीका लागि आशाको ठूलो किरण बन्यो । भग्नावशेषभित्र जीवन हुनसक्ने सम्भावनाले उद्धार टोलीलाई थप उत्साहित बनायो ।

मैलुङमा पनि सुरक्षाकर्मी बेपत्ता

भोटेकोशी बाढीले मैलुङमा त्रिशूली जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी टोलीलाई समेत ठूलो क्षति पुर्‍यायो ।

अस्थायी सुरक्षा बेसका कमाण्डर सशस्त्र प्रहरी नायब निरीक्षक रमेश थापाका अनुसार बाढीको सूचना पाएलगत्तै उनले हतियारसहितको टोलीलाई सुरक्षित स्थानतर्फ पठाएका थिए । आफू र केही सहकर्मी बाहिर निस्कने क्रममा भने बाढीले घेर्‍यो ।

गोताखोरको तालिम लिएका थापा अनेक प्रयासपछि बाढीबाट बाहिर निस्कन सफल भए । तर, उनका चार जना सहकर्मी बेपत्ता भए ।

बेपत्तामध्ये सशस्त्र प्रहरी जवान साजन कुँवरको शव पूर्वी नवलपरासीमा फेला परिसकेको छ भने अन्यको खोजी जारी छ ।

भग्नावशेषमा जीवन खोज्दै

भोटेकोशी बाढी र पहिरोले स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म ४१ भन्दा बढी पुल बगाएको छ । कतिपय स्थानमा सडक पूर्ण रूपमा क्षतिग्रस्त छन् ।

यही कठिन भूगोल, माटोका थुप्रा र भग्नावशेषबीच सशस्त्र प्रहरीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा टिमुरे क्षेत्रबाट हालसम्म ९८ शव सङ्कलनगरेको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रमा चार हजार दुई सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।

टिमुरेदेखि पश्चिम नवलपरासीसम्म करिब ८ सय विशेष तालिमप्राप्त जनशक्ति खोज तथा उद्धारमा खटिएका छन् ।

उद्धार अभियानमा गोताखोर, सीएसएसआर, रोप रेस्क्यु, उच्च पर्वतीय उद्धार, के–९, ड्रोन तथा मेडिकल टोलीसमेत परिचालन गरिएको छ ।

कमाण्डर गुम्यो, कर्तव्य गुमेन

भोटेकोशीको बाढीले सशस्त्र प्रहरीका कमाण्डर बगायो । सहकर्मी बगायो । कार्यालय र बासस्थान बगायो । सडक र सञ्चार सम्पर्क तोड्यो ।

तर नागरिकप्रतिको कर्तव्य बगाउन सकेन ।

आफ्नै सहकर्मीको खोजी र पीडा बोकेर पनि सशस्त्र प्रहरीका जवानहरू अहिले भोटेकोशी किनार, माटोका थुप्रा र भग्नावशेषमा अझै जीवन खोजिरहेका छन् ।

विपत्तिले उनीहरूलाई पनि पीडित बनायो, तर त्यही पीडाबीच उनीहरू अरूको जीवन बचाउने उद्धारकर्मी बनेर उभिएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गौरा पर्वले सद्भाव, सांस्कृतिक एकता र राष्ट्रिय एकता बलियो बनाउँछ : राष्ट्रपति पौडेल

कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा ‘नाइट ट्रक’ नियम

सम्बन्धित

रसुवा : कार्यालय बगे, सहकर्मी बेपत्ता भए, तर उद्धारमा जुटिरहे कर्मचारी

‘नगन्य गल्तीको ठुलो सजाय भोगिरहेका छौँ’ : प्रधानमन्त्री बालेन

एल निनो २०२७ सम्म कायम रहने प्रक्षेपण, विश्वभर चरम मौसमको जोखिम बढ्ने

सुरुङभित्र ९ दिनदेखि उद्धारको पर्खाइ, सरकारमाथि प्रश्न : ‘पिन प्वाइन्ट’ थाहा हुँदाहुँदै किन ढिलाइ ?

कांग्रेस संस्थापनइतर पक्षले छुट्टै महाधिवेशन गर्ने, मंसिर २१–२३ मा काठमाडौंमा

बालेन न्युयोर्क जाने संकेतपछि परराष्ट्रले थाल्यो राष्ट्रसंघ महासभाको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu