काभ्रेपलाञ्चोक । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारी चाप बढेको छ । बढ्दो चापसँगै दुर्घटना र सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक प्रशासनले राजमार्गमा आलोपालो तथा नियन्त्रित यातायात प्रणाली लागू गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार मालवाहक सवारीसाधन रातको समयमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरिएको छ । जिल्लास्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारीका लागि तौल सीमासमेत तोकेको छ ।
बीपी राजमार्गका कतिपय खण्डमा १० टनभन्दा बढी तौलका सवारीसाधन सञ्चालन गर्न कठिन र जोखिमपूर्ण हुने भएकाले तौल सीमा कायम गरिएको प्रशासनले जनाएको छ ।
धुलिखेल–खुर्कोटतर्फ सवारी ‘क्रस’ नहुने व्यवस्था
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सडकमा जाम हुन नदिन ट्राफिक प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समन्वय गरी यातायात व्यवस्थापन भइरहेको छ ।
धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक सवारीसाधन सम्भव भएसम्म बाटोमै एक–अर्कासँग क्रस नहुने गरी समय व्यवस्थापन गरिएको उनले बताए ।
यसबाट साँघुरा तथा जोखिमयुक्त खण्डमा सवारी जाम र दुर्घटनाको सम्भावना घटाउने प्रशासनको लक्ष्य छ ।
ग्यास बुलेटलाई सुरक्षाकर्मीको निगरानीमा सञ्चालन
ग्यास बुलेटलगायत ठूला मालवाहक सवारीसाधनलाई बीपी राजमार्गको धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालनगरिने भएको छ ।
राजमार्गका जोखिमयुक्त स्थानमा विशेष निगरानी राखिने प्रशासनले जनाएको छ ।
जोखिमयुक्त घुम्ती सुधारिँदै
डिभिजन सडक कार्यालय भक्तपुरले दुर्घटनाको उच्च जोखिम भएका साँघुरा घुम्ती तथा सडक अवरुद्ध हुनसक्ने स्थान पहिचान गरी तत्काल सम्भव सुधारका काम अघि बढाउने भएको छ ।
डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जोखिमयुक्त स्थानमा सवारीसाधन सहज रूपमा पास गराउन आवश्यक तयारी गरिएको बताए ।
“राजमार्गका जोखिमयुक्त स्थानमा सवारीसाधन सहज पास गराउन तथा सडक अवरुद्ध हुन नदिन डोजर तथा अन्य उपकरण तम्तयारी अवस्थामा राखिएको छ,” उनले भने ।
कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको बीपी राजमार्गमा थप सवारी चाप बढेकाले सडकको क्षमता र सुरक्षा दुवैलाई ध्यानमा राखेर यातायात व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्