काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्व तथा लोक परम्पराले समाजमा आपसी सद्भाव, सहिष्णुता र सांस्कृतिक ऐक्यबद्धता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ।
गौरा पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्ता मौलिक सांस्कृतिक पर्वले नेपालको विविधतामा एकता कायम गर्दै सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभएको हो।
उहाँले गौरा पर्वले परिवार र समाजलाई जोड्नुका साथै राष्ट्रिय एकता सुदृढ गर्न, मौलिक संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनमा सुख, शान्ति र समृद्धिको भावना विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ।
पश्चिम नेपालमा विशेष उल्लास
गौरा पर्व प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म नेपालका पश्चिमी तथा सुदूरपश्चिम क्षेत्रमा विशेष महत्वका साथ मनाइन्छ। पर्वका अवसरमा शिव र पार्वती अर्थात् गौराको पूजा–आराधना गर्दै व्रत बस्ने परम्परा छ।
गौरा पर्वमा गहुँ, धान, केराउ, मास र गहत गरी पाँच प्रकारका अन्नबाट तयार पारिने ‘बिरुँडा’ अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ। बिरुँडालाई कृषि संस्कृति, मानवीय जीवन र पारिवारिक समृद्धिसँग जोडेर हेर्ने गरिन्छ।
देउडा र धमारीमा बाँडिन्छन् सुख–दुःख
गौरा पर्वको अर्को महत्वपूर्ण पक्ष स्थानीय मौलिक लोकसंस्कृति हो। पर्वका क्रममा महिला तथा पुरुषहरू सामूहिक रूपमा गोलबद्ध भएर देउडा, धमारीलगायतका लोकनृत्य तथा गीत प्रस्तुत गर्छन्।
यस्ता सांस्कृतिक गतिविधिमार्फत स्थानीयवासीले आफ्ना सुख–दुःख साटासाट गर्नुका साथै आपसी सम्बन्ध र भाइचारालाई थप प्रगाढ बनाउने गर्छन्।
राष्ट्रपति पौडेलले गौरा पर्वसँग जोडिएका सामाजिक तथा सांस्कृतिक मान्यताले बिछोडिएका जोडीको पुनर्मिलन, आपसी भाइचाराको विकास तथा पति–पत्नीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वासलाई समेत बलियो बनाएको उल्लेख गर्नुभएको छ।
उहाँले गौरा पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना थप मजबुत बनाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्