काठमाडौं । “हामीलाई ‘पिन प्वाइन्ट’ थाहा थियो, हामीले पहिलो दिन नै भनेका हौँ । तर सरकारले हाम्रो कुरा सुनेन ।”
लाङटाङ खोला जलविद्युत् आयोजनाका एक प्रवर्द्धकको यो गुनासो अहिले जलविद्युत् आयोजनाका सुरुङ र पावर हाउसमा फसेकाहरूको उद्धारमा भइरहेको ढिलाइप्रति उठेको गम्भीर प्रश्न बनेको छ ।
भोटेकोसी बाढी आएको नौ दिन बितिसक्दा पनि विभिन्न जलविद्युत् आयोजनाका सुरुङ र पावर हाउसमा फसेका सयौँ मानिसको अवस्था अझै अज्ञात छ । उद्धारको नेतृत्व नेपाली सेनाले गरिरहेको छ । तर, सुरुङभित्रको संरचना, जोखिम र आवश्यक उपकरणबारे पर्याप्त अनुभव तथा स्रोतसाधनको अभावले उद्धार अभियान अपेक्षित गतिमा अघि बढ्न नसकेको जानकारहरूको भनाइ छ ।
‘आयोजनाकै प्राविधिकलाई सुरुदेखि साथ लिनुपर्थ्यो’
लाङटाङ खोला आयोजनाका प्रवर्द्धक विजयमोहन भट्टराईका अनुसार सम्बन्धित आयोजनाका प्राविधिक तथा विकासकर्तालाई सुरुदेखि नै उद्धार अभियानमा समेटिएको भए अवस्था फरक हुन सक्थ्यो ।
“आयोजनाको मुख्य भाग के–कस्ता छन्, त्यो त्यहाँका प्राविधिक र विकासकर्तालाई थाहा हुने कुरा हो । सरकारले बेलैमा क्षति भएका आयोजनाका अधिकारीलाई साथ लिँदै उद्धार गरेको भए राम्रो हुन्थ्यो,” भट्टराई भन्छन्, “हामीले डे वानदेखि सरकारलाई भनेको हो । तर, कसैले सुनेनन् ।”
जानकारहरूका अनुसार बाढीबाट प्रभावित ११ जलविद्युत् आयोजनाका सुरुङ तथा पावर हाउसबाट मानिसहरू उद्धारको प्रतीक्षामा छन् ।
सुरुङभित्रको वास्तविक संरचना, प्रवेशद्वार, वैकल्पिक मार्ग, पानीको बहाव, भेन्टिलेसन र उपकरणको अवस्थाबारे आयोजनाकै प्राविधिकलाई बढी जानकारी हुने भएकाले उनीहरूको प्रत्यक्ष सहयोग उद्धारमा महत्वपूर्ण हुने बताइएको छ ।
‘सेनाले गर्छौं भन्यो, तर अनुभवले साथ दिएन’
सुरुङ उद्धारको नेतृत्व नेपाली सेनाले गरे पनि यस किसिमको ठूलो र जटिल विपत्तिमा अनुभव तथा आवश्यक उपकरणको अभाव चुनौती बनेको बताइएको छ ।
एक सुरुङ विज्ञका अनुसार सरकारी संयन्त्रमा भर पर्दा उद्धारमा महत्वपूर्ण समय गुमेको छ ।
“सरकारी भर पर्दा यसपालि देशले धेरै ठूलो जनशक्ति गुमाएको छ,” ती विज्ञ भन्छन्, “सेनाले हामी गर्छौं भनेर जिम्मा लिँदा र त्यसको रियलाइज गर्दा निकै ढिला भइसक्यो ।”
सरकारले विदेशी उद्धार टोलीसमेत तीन दिनपछि मात्रै बोलाएको बताइएको छ । भारत, चीनलगायतका प्राविधिक टोली अहिले केही आयोजनामा उद्धार प्रयासमा संलग्न छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भने सदनमा विपत्ति आफैँमा नयाँ भएकाले तत्काल उद्धार गर्न सक्ने उपकरण कुनै पनि देशसँग सहजै उपलब्ध नहुने बताएका छन् ।
सांसदको हस्तक्षेपले झन् अन्योल ?
उद्धारमा राजनीतिक तहबाट हुने हस्तक्षेपले समेत समस्या थपेको एक इन्जिनियरको गुनासो छ ।
“सांसदले कहिले यसो गर्ने भनेका छन्, कहिले उसो गर्ने भनेका छन्,” ती इन्जिनियर भन्छन्, “उसै त ढिलो भएको उद्धारमा यसले झन् ढिलाइ गरिरहेको छ ।”
उद्धारजस्तो प्राविधिक र जोखिमपूर्ण कार्यमा स्पष्ट कमान्ड संरचना, प्राविधिक नेतृत्व र तत्काल निर्णय क्षमता आवश्यक हुने विज्ञहरूको भनाइ छ ।
लाङटाङ खोलामा दुई शव भेटिए
लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा बिहीबार मात्रै दुईजनाको शव भेटिएको छ । आयोजनामा अझै १९ जना सम्पर्कविहीन रहेको बताइएको छ ।
यद्यपि आयोजनासम्बन्धी अर्को विवरणमा ४२ जना कर्मचारी सम्पर्कविहीन रहेको उल्लेख छ । आयोजनाको फरक–फरक समयको विवरण भएकाले संख्या अद्यावधिक हुँदै गरेको देखिन्छ ।
नेपाल इन्जिनियर एसोसिएसनले ‘आज उनीहरू, भोलि हामी’ अभियान सञ्चालन गर्दै सरकारसँग सुरुङभित्र फसेकाहरूको तत्काल उद्धार गर्न माग गरिरहेको छ ।
माथिल्लो त्रिशूली–१ : ५५७ जना सम्पर्कविहीन
बाढीबाट सबैभन्दा ठूलो मानवीय क्षति पुगेका आयोजनामध्ये माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) पनि एक हो ।
कोरियाली कम्पनीले निर्माण गरिरहेको यस आयोजनामा ५५७ जना सम्पर्कविहीन रहेको बताइएको छ ।
आयोजनाको मुख्य ठेकेदार एन्डिज हाइड्रोका प्रोजेक्ट म्यानेजर तथा इलेक्ट्रिकल इन्जिनियर जयनारायण चौधरीका अनुसार कम्पनीका कुल २७८ कामदारमध्ये १५२ जनाको सकुशल उद्धार गरी काठमाडौं ल्याइएको छ । तर नेपाली र भारतीय श्रमिक तथा प्राविधिकमध्ये केही अझै सम्पर्कमा छैनन् ।
आयोजनामा एन्डिज हाइड्रोबाहेक सिभिलतर्फ पावर चाइना, एनडब्लूडीसी र डुकसानलगायत ठेकेदार कम्पनीसमेत संलग्न छन् । त्यसैले समग्र बेपत्ता तथा क्षतिको यकिन विवरण अझै संकलनको क्रममा रहेको जनाइएको छ ।
बाढीले आयोजनाको पावर हाउस, कामदार क्वार्टर, वर्कसप र मुख्य स्टोर पूर्ण रूपमा बगाएको चौधरीले बताए ।
“स्टोरका करिब ८० प्रतिशत उपकरण र निर्माण सामग्री नष्ट भएका छन्, भौतिक संरचनाको अवस्था शून्यप्रायः छ,” उनले भने ।
सुरुङभित्र लेदो र ढुंगाको थुप्रो
सुरुङभित्र फसेका कामदारको अवस्था अझै अज्ञात छ ।
आयोजनाका अनुसार सुरुङको प्रवेशद्वारभन्दा २० देखि २५ मिटरसम्म पानीको सतह बढेका कारण लेदो, ढुंगा र मुडा सुरुङभित्र पसेका छन् ।
आयोजनास्थलसम्म पुग्ने पहुँचमार्गसमेत पूर्ण रूपमा ध्वस्त भएकाले तत्काल हेभी उपकरण पुर्याएर उत्खनन गर्न कठिन देखिएको छ ।
उद्धारका लागि नेपाली सेनाको टोली र हेलिकोप्टर परिचालन गरिएको छ । हेलिकोप्टरबाट आवश्यक उपकरण तथा पार्टपुर्जा पुर्याएर संयोजन गर्न सकेपछि मात्रै सुरुङ सफा गर्ने र खोजी कार्य अघि बढाउन सकिने अवस्था रहेको बताइएको छ ।
उद्धार गरिएका कामदारलाई सुरक्षित स्थानमा राखिएको छ भने भारतीय नागरिकलाई दूतावासको समन्वयमा स्वदेश फर्काउने तयारी भइरहेको छ ।
त्रिशूली–३ ‘बी’ : २०१ जना सम्पर्कविहीन
त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा २०१ जना कर्मचारी, ठेकेदार तथा कामदार सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ ।
त्रिशूली जलविद्युत् कम्पनीकी सचिव तथा प्रशासन प्रमुख लीला अर्यालका अनुसार सम्पर्कविहीन हुनेमा आयोजनाका २१ कर्मचारी, उनीहरूका परिवारका सात सदस्य, परामर्शदाता कम्पनी चेस्कोका १२ जना, लट–१ ठेकेदारतर्फका चार चिनियाँ र दुई नेपाली, काठमाडौं विश्वविद्यालयबाट इन्टर्नमा गएका तीन विद्यार्थी, ठेकेदार पक्षका १५१ कामदार र एक सुरक्षा गार्ड छन् ।
आयोजनामा नेपाली सेनासहितको ५१ जनाको टोली सुरुङमा परिचालित छ ।
अर्यालका अनुसार सुरुङभित्र करिब एक किलोमिटर क्षेत्रसम्म खोजी गर्दा समेत फसेका व्यक्ति फेला परेका छैनन् ।
माथिल्लो त्रिशूली–३ ‘ए’मा ४२ जना
६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा ४२ जना फसेको बताइएको छ ।
बाढीपछि आयोजनाका विभिन्न संरचनामा क्षति पुगेको छ । सुरुङ तथा पावर हाउसमा फसेकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षा टोली परिचालन गरिएको छ ।
रसुवागढीमा ९३ जना कार्यरत
१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना कार्यरत रहेकोमा आयोजनाका ४९ र ठेकेदार कम्पनीका ४२ जना सम्पर्कविहीन रहेको कम्पनीका सचिव नरनाथ न्यौपानेले जानकारी दिए ।
ठेकेदारतर्फका चारजनाको जीवितै उद्धार गरिएको र दुईजनाको शव फेला परेको छ ।
सुरुङभित्र खोजी गर्दा मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको उल्लेख छ ।
लाङटाङ खोलामा अझै आशा
२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा ४२ जना सम्पर्कविहीन रहेको आयोजनाका प्रवर्द्धक कम्पनी मल्टी इनर्जीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
उद्धारको काम आइतबारदेखि सुरु भएको हो । नेपाली र भारतीय सेनाका प्राविधिकसहितको टोली उद्धारमा संलग्न छ ।
“हाम्रो आयोजनामा ४२ जना मिसिङ हुनुहुन्छ । सुरुङमा पानी गइरहेको हुँदा हामी आशामै छौँ,” आचार्यले भने ।
उनका अनुसार सम्पर्कविहीन हुनेमा आठ प्राविधिक इन्जिनियर, पाँच सहयोगी, एक सुरक्षा गार्डसहित सुरुङभित्र काम गरिरहेका कामदार छन् ।
नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीका अनुसार नेपाली सेनासँग पर्याप्त उपकरण र अनुभवको अभाव छ । भारतीय तथा चिनियाँ उद्धार टोली पनि सीमित आयोजनामा मात्रै परिचालित छन् ।
यस्तो अवस्थामा सुरक्षा निकाय, आयोजनाका प्रवर्द्धक तथा प्राविधिक र अन्तर्राष्ट्रिय सुरुङ उद्धार विशेषज्ञलाई एउटै कमान्ड संरचनामा ल्याएर काम गर्नुपर्ने आवश्यकता देखिएको छ ।
सुरुङभित्र मानिस जीवितै छन् कि छैनन् भन्ने यकिन नहुँदै समय बितिरहेको छ । प्रत्येक घण्टा महत्वपूर्ण बन्दै गएको अवस्थामा अब प्रश्न केवल उद्धार टोली पुग्यो कि पुगेन भन्ने होइन—उपयुक्त उपकरण, सही प्राविधिक ज्ञान र निर्णय क्षमतासहित उद्धार कहिले सुरु हुन्छ भन्ने हो ।
भोटेकोसी बाढीले सडक, पुल र आयोजना बगायो । तर सुरुङभित्र फसेकाहरूका लागि अझै एउटा आशा बाँकी छ—उद्धार टोली समयमै उनीहरूसम्म पुग्ने आशा ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्