ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको बाढीले भारतलाई पनि जोखिम, सीमापार नदी व्यवस्थापनमा सहकार्य आवश्यक


ABC NEWS
२० भदौ २०८३, शनिबार   ८ : ०५   बजे

काठमाडौं । तिब्बतको सीमासँग जोडिएको क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्‍याएपछि यसको प्रभाव सीमापार भारतसम्म पुग्ने जोखिमबारे पनि बहस सुरु भएको छ। विज्ञहरूले नेपाल र भारतले हिमालयबाट बग्ने नदी प्रणाली साझा गरेकाले नेपालमा हुने अत्यधिक वर्षा, पहिरो र बाढीले भारतका तल्लो तटीय क्षेत्रमा समेत गम्भीर असर पार्न सक्ने बताएका छन्।

नेपालमा ६ हजारभन्दा बढी नदी तथा खोलानाला छन्। अधिकांश दक्षिणतर्फ बग्दै भारत हुँदै गंगा नदी प्रणालीमा मिसिन्छन्। कोसी, गण्डकी र कर्णाली नेपालका प्रमुख नदी प्रणाली हुन्। महाकालीसहित वाग्मती, कमला, राप्ती र बबईजस्ता नदीले पनि भारतका विभिन्न भूभागमा बाढीको जोखिम बढाउँछन्।

इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)का जलवैज्ञानिकहरूका अनुसार नेपालबाट भारततर्फ बग्ने सातदेखि नौवटा मुख्य नदी सीमापार बाढीका प्रमुख स्रोत हुन्। भारतको केन्द्रीय जल आयोगले पनि कोसी, गण्डक, वाग्मती र कर्णाली अर्थात् घाघरालाई प्रमुख सीमापार नदीका रूपमा पहिचान गरेको छ।

बिहार र उत्तर प्रदेश बढी जोखिममा

नेपालबाट भारत प्रवेश गर्ने नदीका कारण सबैभन्दा बढी जोखिममा बिहार रहेको विज्ञहरूको भनाइ छ। उत्तरी बिहारको ठूलो भूभाग बाढीको उच्च जोखिम क्षेत्रमा पर्छ। कोसी, गण्डक, वाग्मती र कमलाजस्ता नेपालबाट आउने नदीले वर्षेनी बिहारका विभिन्न क्षेत्रमा डुबानको जोखिम बढाउँछन्।

पूर्वी उत्तर प्रदेश पनि कर्णाली अर्थात् घाघरा, राप्ती र गण्डक नदीका कारण जोखिममा छ। गोरखपुर, बहराइच, लखिमपुर खीरी र श्रावस्ती आसपासका क्षेत्र बाढीबाट प्रभावित हुने गरेका छन्। महाकाली–शारदा नदी प्रणालीका कारण उत्तराखण्ड तथा मेची र महानन्दाका कारण पश्चिम बंगालको उत्तरी क्षेत्र पनि प्रभावित हुन सक्छ।

विज्ञहरूका अनुसार परिमाणका हिसाबले बिहार सबैभन्दा बढी जोखिममा भए पनि उत्तर प्रदेशको जोखिम पनि कम छैन।

नेपालमा परेको पानीले मात्र भारतमा बाढी आउँदैन

जलवैज्ञानिकहरूका अनुसार नेपालबाट भारततर्फ जाने बाढीको जोखिमलाई केवल नेपालमा परेको वर्षासँग जोडेर हेर्न मिल्दैन। बाढीको बहाव र त्यसले निम्त्याउने क्षति निर्धारण गर्न वर्षाको स्थान र मात्रा, नदीको जलस्तर, तटबन्ध, ब्यारेज, ढल निकास तथा भारततर्फका सडक, रेलमार्ग र बस्तीको अवस्थासमेत महत्वपूर्ण हुन्छ।

नेपालको पहाडी तथा चुरे क्षेत्रमा अत्यधिक वर्षा हुँदा साना र भिराला जलाधारबाट पानी तीव्र गतिमा तल झर्छ। यस क्रममा पानीसँगै ढुंगा, लेदो र अन्य गेग्रान बगेर आउन सक्छ। तराईमा पुगेपछि नदीको स्वरूप परिवर्तन हुँदै पानी विभिन्न शाखामा फैलिन्छ।

भारत प्रवेश गरेपछि भने बाढीको क्षति कति हुन्छ भन्ने त्यहाँको वर्षा, गंगा नदीको जलस्तर, तटबन्ध र ब्यारेजको अवस्था तथा पानी निकासको क्षमतामा निर्भर हुन्छ।

सन् २००८ को कोसी बाढी यसको उदाहरण हो। त्यसबेला नदीको बहाव असाधारण रूपमा उच्च नभए पनि तटबन्ध भत्किएपछि बिहारमा ठूलो जनधनको क्षति भएको थियो। विज्ञहरूका अनुसार दशकौँअघि निर्माण भएका तटबन्धको कमजोर मर्मतसम्भारका कारण जोखिम बढेको थियो।

पूर्वसूचना प्रणाली अझ प्रभावकारी बनाउनुपर्ने

सामान्य मनसुनी बाढीका लागि भारतले नेपालबाट करिब १२ घण्टादेखि दुई दिनसम्मको पूर्वसूचना पाउन सक्ने विज्ञहरूको भनाइ छ। कोसी र गण्डकको पानी नेपालको पहाडी फेदीबाट बिहारको समथर क्षेत्रमा पुग्न करिब एक दिन लाग्न सक्छ भने घाघरा नदीमा केही बढी समय लाग्न सक्छ।

तर चुरे क्षेत्रबाट आउने आकस्मिक बाढी केही घण्टामै तल्लो क्षेत्रमा पुग्न सक्छ। पहिरोले नदी थुनेर अचानक फुट्दा वा अत्यधिक गेग्रानसहितको बाढी आउँदा पूर्वसूचनाको समय अझै छोटिन सक्छ।

नेपाल र भारतबीच वर्षा तथा नदीको जलस्तरसम्बन्धी तथ्यांक आदानप्रदान हुँदै आएको छ। नेपालको जल तथा मौसम विज्ञान विभागले उपलब्ध गराउने तथ्यांक भारतको केन्द्रीय जल आयोगले बाढी पूर्वानुमानमा प्रयोग गर्छ।

तर चुरे तथा तीव्र बहाव हुने जलाधार क्षेत्रमा वास्तविक समयको अनुगमन गर्ने पर्याप्त स्टेसन नहुनु, साझा पूर्वानुमान प्रणालीको अभाव तथा तटबन्ध र नदीको बहाव मार्गमा आएको परिवर्तनबारे सीमित सूचना आदानप्रदान हुनु अझै चुनौतीका रूपमा रहेका छन्।

विज्ञहरूले जिल्ला तहमा पूर्वसूचना पुग्नु र जोखिममा रहेका परिवारसम्म समयमै सूचना पुग्नु फरक विषय भएकाले ‘अन्तिम माइल’सम्म प्रभावकारी सूचना प्रणाली आवश्यक रहेको बताएका छन्।

‘नेपालले भारततर्फ पानी छोड्छ’ भन्ने धारणा गलत

विज्ञहरूले नेपालले भारततर्फ पानी ‘छोड्ने’ वा ‘बगाउने’ गरेको भन्ने धारणा वैज्ञानिक रूपमा सही नभएको बताएका छन्। नेपालमा ठूलो मात्रामा पानी भण्डारण गर्न सक्ने जलाशय अत्यन्त सीमित छन्। कोसी र गण्डकका प्रमुख ब्यारेज पनि भारतकै व्यवस्थापनमा छन्।

सीमासम्म पुग्ने बाढीको पानी मुख्यतः माथिल्लो तटीय क्षेत्रमा परेको वर्षाका कारण आउने हो। त्यसैले नेपालले नियोजित रूपमा भारततर्फ पानी पठाएको भन्ने निष्कर्ष निकाल्नु उपयुक्त नहुने विज्ञहरूको भनाइ छ।

तर यसको अर्थ नेपालमा परेको वर्षाको भारतमा कुनै प्रभाव हुँदैन भन्ने होइन। नेपालबाट भारततर्फ बग्ने नदीहरूले उत्तरी बिहार र पूर्वी उत्तर प्रदेशमा ठूलो मात्रामा पानी पुर्‍याउँछन्। नेपालले गंगा नदीको औसत वार्षिक बहावमा महत्वपूर्ण हिस्सा योगदान गर्ने भएकाले नेपालको जलविज्ञान भारतका लागि पनि अत्यन्त महत्वपूर्ण मानिन्छ।

जलवायु परिवर्तनले जोखिम बढाउँदै

विज्ञहरूका अनुसार भारतका लागि मुख्य चिन्ता नेपालबाट आउने सामान्य बाढी मात्र होइन, हिमाली क्षेत्रमा बढ्दै गएको चरम मौसम र त्यसबाट उत्पन्न हुने बहुप्रकृतिका विपद् हुन्।

अत्यधिक वर्षा, हिमनदी तथा बरफ पग्लिने क्रम, पहिरो र हिमताल विस्फोटका घटनाले पानीसँगै ठूलो मात्रामा ढुंगा, लेदो र गेग्रान बगाउन सक्छ। यस्तो बहाव सामान्य बाढीभन्दा धेरै विनाशकारी हुने गर्छ।

सन् २०२१ को भारतको चमोली विपद् र त्यसपछिका उत्तराखण्डका घटनाले पनि हिमाली क्षेत्रमा पानीसँगै गेग्रान र लेदोको बहावले निम्त्याउने जोखिम देखाइसकेका छन्।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा अत्यधिक वर्षा, हिमताल विस्तार, पहिरो र हिमपहिरोको जोखिम बढ्न सक्ने वैज्ञानिकहरूको आकलन छ। यस्तो अवस्थामा नदीमा एकैपटक ठूलो मात्रामा पानी र गेग्रान पुग्दा सीमापार क्षेत्रमा समेत अप्रत्याशित विपद् निम्तिन सक्छ।

त्यसैले नेपाल र भारतबीचको बाढी जोखिमलाई एकअर्कामाथि दोष लगाउने विषयभन्दा साझा हिमाली नदी प्रणालीको व्यवस्थापनका रूपमा हेर्नुपर्ने विज्ञहरूको सुझाव छ। वास्तविक समयको तथ्यांक आदानप्रदान, संयुक्त पूर्वानुमान प्रणाली, प्रभावकारी पूर्वसूचना, तटबन्धको नियमित अनुगमन र नदीको बहाव क्षेत्र व्यवस्थापनमा दुई देशबीच थप सहकार्य आवश्यक देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीजमा दिदीबहिनीलाई उपहार दिने गोविन्दको सपना, भोटेकोशी बाढीले अधुरै बनायो

नेपालको बाढीले भारतलाई पनि जोखिम, सीमापार नदी व्यवस्थापनमा सहकार्य आवश्यक

सम्बन्धित

नेपालसहित ४४ अल्पविकसित देशको सामूहिक आवाज : ‘जलवायु विपद्को क्षतिपूर्ति धनी राष्ट्रले दिनुपर्छ’

जलवायु न्यायको माग जायज, तर कूटनीतिमा परिपक्वता अपरिहार्य

नेपाललाई हिमताल जोखिम र मौसमसम्बन्धी सूचना उपलब्ध गराउने चीनको प्रतिबद्धता

हिमनदीका लागि तापक्रम मात्रै होइन, हावाको कालिख पनि खतरा

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित बालबालिकाको जिम्मा लिँदै बागमती सरकार

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu