पोखरा । सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार रोहितराज पराजुली सम्मानित हुने भएका छन्।
पोखराको सहारा क्लबले क्लबको प्रतिभा छनोट समितिको सिफारिसमा पराजुलीलाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारको राशि ३० हजार ५ सय २५ रुपैयाँ रहेको छ। क्लबको वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदान गरिने जनाइएको छ।
मानार्थ सदस्य नारायण कार्कीको संयोजकत्वमा गठित छनोट समितिले पराजुलीको नाम सिफारिस गरेको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।
पराजुली हाल नयाँ पत्रिका दैनिकमा कार्यरत छन्। उनले २०६१ सालमा आदर्श समाज दैनिकबाट विद्यार्थी पत्रकारितामार्फत आफ्नो पत्रकारिता यात्रा सुरु गरेका थिए।
खेल पत्रकारितामा योगदान पुर्याएबापत पराजुलीले यसअघि युवा तथा खेलकुद मन्त्रालयको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार, उत्कृष्ट खेल पत्रकार अवार्ड तथा अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारसमेत प्राप्त गरिसकेका छन्।
फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लबले खेल क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ।
२०६३ सालमा स्थापना गरिएको यो पुरस्कार खेल पत्रकारिता विधामा नेपालकै पहिलो पुरस्कार भएको क्लबको दाबी छ। यसअघि २० जना पत्रकार यो पुरस्कारबाट सम्मानित भइसकेका छन्।

Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्