रसुवा । भोटेकोसी बाढीले रसुवाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ । जिल्ला प्रशासन कार्यालयले यही १० गतेको बाढीले पुर्याएको क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।
जिल्लामा बाढीबाट २८ सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र एक हजार ५०० निजी घरमा क्षति पुगेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
बाढीले जिल्लामा ४१ किलोमिटर सडक, ६ पक्की पुल, आठ बेलीब्रिज र १० झोलुंगे पुल बगाएको छ । भोटेकोसी र त्रिशूली नदी तथा लाङटाङ खोलामा निर्मित आठ जलविद्युत् आयोजनामा बाढीबाट पूर्ण रूपमा क्षति पुगेको छ ।
बाढीले १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोसी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, पाँच मेगाावटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र ३७.३ मेगावाटको त्रिशूली–३ ‘बी’मा क्षति पुर्याएको छ ।
खोज तथा उद्धार जारी
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार कार्य भइरहेको छ । थप मद्दतका निम्ति दक्षिण कोरिया, भारत र चीनका विज्ञ समेत प्रभावित क्षेत्रमा खटिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यान्न आपूर्ति सहज गर्न हेलिकोप्टरमार्फत राहत वितरण भइरहेको सहायक प्रजिअ अधिकारीले जानकारी दिए । रासस
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्