अबुजा । हेपाटाइटिस बी खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जीको लाइबेरियास्थित संरक्षण केन्द्रमा स्वास्थ्य परीक्षण गरिएको छ ।
मध्य लाइबेरियाको ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’मा रहेका चिम्पान्जीको दाँत सफा गर्ने, एक्स–रे गर्ने, नङ काट्ने तथा अन्य स्वास्थ्य परीक्षण गरिएको केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेले बताउनुभयो ।
उहाँका अनुसार सन् १९७० को दशकदेखि २००० को दशकको सुरुसम्म अमेरिकी अनुसन्धानकर्ताले लाइबेरियामा हेपाटाइटिस बी खोप परीक्षणका लागि चार सयभन्दा बढी चिम्पान्जी प्रयोग गरेका थिए । तीमध्ये धेरैलाई सानै उमेरमा जङ्गलबाट समातिएको थियो ।
पश्चिम अफ्रिकामा गिनीपछि सबैभन्दा धेरै चिम्पान्जी लाइबेरियामा पाइन्छन् । सङ्ख्यामा आएको तीव्र गिरावटका कारण पश्चिम अफ्रिकी चिम्पान्जीलाई अत्यन्त सङ्कटापन्न प्रजातिका रूपमा वर्गीकरण गरिएको छ ।
रिकोटेका अनुसार अनुसन्धानका क्रममा ती चिम्पान्जीलाई शरीरभित्रै हस्तक्षेप हुने विभिन्न परीक्षणमा प्रयोग गरिएको थियो । लामो समयसम्म विभिन्न परीक्षण र पीडा सहनुपरेका चिम्पान्जीको अहिले संरक्षण केन्द्रमा विशेष हेरचाह भइरहेको छ ।
‘ह्युमेन वल्र्ड फर एनिमल्स’का अनुसार सन् २०१५ मा अनुसन्धान कार्यक्रम समाप्त हुँदा बाँकी रहेका ६० चिम्पान्जीको स्थायी हेरचाहको जिम्मेवारी संस्थाले लिएको थियो ।
हाल ती चिम्पान्जी म्यान्ग्रोभ वनले ढाकिएका टापुहरूको समूहमा रहेको संरक्षण केन्द्रमा बस्दै आएका छन् । स्वास्थ्य परीक्षणका क्रममा उनीहरूलाई एनेस्थेसिया दिएर टाउकोदेखि खुट्टासम्म परीक्षण गरिएको थियो ।
संस्थाका अनुसार परीक्षणको मुख्य उद्देश्य चिम्पान्जीको दीर्घकालीन स्वास्थ्य अवस्था मूल्याङ्कन गर्नु, रोगका प्रारम्भिक लक्षण पहिचान गर्नु तथा उमेर बढ्दै जाँदा प्रत्येक चिम्पान्जीका लागि आवश्यक हेरचाह योजना तयार गर्नु हो ।
परीक्षणका क्रममा दाँत, मुटु, फोक्सो, स्नायु प्रणाली र रगतको जाँच गरिएको थियो । उनीहरूलाई बुस्टर खोप दिनुका साथै नङसमेत काटिएको संस्थाले जनाएको छ । बाँकी चिम्पान्जीको पनि क्रमशः स्वास्थ्य परीक्षण गर्ने योजना रहेको छ ।
संरक्षण केन्द्रकी पशु चिकित्सक बेलेन पेरेज हर्नान्डोले लामो समयसम्म पीडा र कठिनाइ भोगेका चिम्पान्जीको नियमित स्वास्थ्य परीक्षण उनीहरूको हेरचाहको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो ।
हाल संरक्षण केन्द्रमा रहेका चिम्पान्जीको औसत उमेर ३० देखि ३५ वर्ष रहेको छ । विगतमा गरिएको अनुसन्धानले उनीहरूको स्वास्थ्यमा पारेको दीर्घकालीन प्रभावबारे विस्तृत परीक्षणको नतिजा आउन बाँकी रहेको बताइएको छ ।
रिकोटेका अनुसार अनुसन्धानका क्रममा भोग्नुपरेको पीडाका प्रभाव अझै देख्न सकिन्छ । उहाँले ती चिम्पान्जीलाई सुरक्षित र सम्मानजनक जीवन जिउने ‘दोस्रो अवसर’ प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्