न्युयोर्कका मेयर जोहरान ममदानीले आफ्नो नगरका सार्वजनिक विद्यालयहरूमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्न अस्थायी रूपमा रोक लगाएका छन्।
जेनेरेटिभ एआई च्याटजीपीटीजस्तै प्रयोगकर्ताले दिने निर्देशन वा प्रम्प्टमा आधारित सामग्री उत्पन्न गर्न सक्ने एल्गोरिदम हो।
मेयर ममदानीले भनेका छन्, ‘स्कुलहरूले अर्को सेमेस्टरदेखि प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थी अर्थात् १४ वर्षसम्मका बालबालिकालाई एआईको प्रयोग गर्न अनुमति दिने छैनन्। यो निर्णयले लगभग ६ लाख विद्यार्थी प्रभावित हुनेछन्।’
बालबालिकालाई सिक्न र अघि बढ्न शिक्षक र मानवीय सम्बन्ध आवश्यक हुने उनले उल्लेख गरेका छन्।
ममदानीले भने, ‘उनीहरूले आफ्ना साथीहरूसँग सीप विकास गर्नुपर्छ, शिक्षकहरूसँग सम्बन्ध निर्माण गर्नुपर्छ र आफैँले कठिन समस्याहरूको समाधान गर्नुपर्छ।’
यस नीतिअन्तर्गत विद्यालयहरूमा बालबालिकाको स्क्रिन समयसम्बन्धी नयाँ निर्देशिका पनि लागु गरिने बीबीसीले उल्लेख गरेको छ।
कक्षा ३ देखि ५ सम्मका विद्यार्थीलाई स्कुलमा स्क्रिन टाइम ३० मिनेटमा सीमित गर्न सिफारिस गरिएको छ। ६ देखि ८ कक्षासम्मका विद्यार्थीका लागि यो समय ४५ मिनेट निर्धारण गरिएको छ।
अनि हाई स्कुलसहित सबै कक्षाका विद्यार्थीलाई कम्प्यानियन च्याटबट प्रयोग गर्न निषेध गरिनेछ।
हाई स्कुलका विद्यार्थीले वर्षमा दुईपटक एआई-विशेष अध्ययन गर्नुपर्नेछ।
मेयर ममदानीले यस नीतिलाई वर्षभरि नजिकबाट अनुगमन गरिने बताएका छन्।
उनले भने, ‘यो नीति ढुंगाको अक्षर होइन, अधिकारीहरूले यो प्रभावकारी छ कि छैन भनेर निगरानी गर्नेछन्।’
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्