काठमाडौं । भदौ १० गते रसुवास्थित भोटेकोसी नदीमा आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट क्षतिग्रस्त आयोजनामा प्रारम्भिक रूपमा करिब ६४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
बाढीबाट नुवाकोटमा सबैभन्दा बढी २२ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । ती आयोजनामा मात्रै ४ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको विभागले जनाएको छ । त्यस्तै, धादिङका २०, गोरखाका पाँच र रसुवाका आठ आयोजना क्षतिग्रस्त भएका छन् । क्षतिको विस्तृत विवरण संकलन भने जारी छ ।
खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा तत्काल सेवा सञ्चालन गर्न वैकल्पिक स्रोतको प्रयोगसँगै क्षतिग्रस्त संरचनाको मर्मत अघि बढाइएको विभागले जनाएको छ ।
विदुर खानेपानी आयोजनाको सेवा सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ । यसबाट दैनिक करिब पाँच लाख लिटर पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । बट्टार क्षेत्रमा एक एचपी क्षमताका सातवटा पम्प सञ्चालन गरेर करिब ५०० घरपरिवारमा खानेपानी सेवा पुनः सञ्चालन गरिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँगको समन्वयमा भदौ १२ गतेदेखि चारवटा ट्यांकरमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा पानी वितरण भइरहेको विभागले जनाएको छ ।
त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी प्रभावित क्षेत्रमा सेवा विस्तार गर्न १४ वटा पम्प, एक हजार लिटर क्षमताको हिलटेक ट्यांकी र करिब ४१ दशमलव १ किलोमिटर एचडीपीई पाइप तयारी अवस्थामा राखिएको छ ।
बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना र नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली परिचालन गरिएको विभागले जनाएको छ ।
क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्