काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित नर्थवेस्ट फ्रेस्नोमा विमान दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
फ्रेस्नो फायर डिपार्टमेन्टका अनुसार शनिबार दिउँसो करिब ३ः४५ बजे सियरा स्काई पार्क विमानस्थलमा अवतरण गर्ने क्रममा सन्तुलन गुमाएपछि एकल इन्जिनयुक्त विमान रनवेभन्दा करिब २०० यार्ड टाढा नदीको किनारमा खसेको थियो।
विमान ब्लाइथ एभिन्युनजिकै नदीको तटबन्धमा खसेपछि उद्धारका लागि वाटर रेस्क्यु तथा अर्बन सर्च एन्ड रेस्क्यु टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो।
उद्धारकर्मीले विमानबाट दुईजनालाई जीवितै उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल पुर्याएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ।
दुर्घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायले अनुसन्धान थालेका छन्।
विमान खस्ने क्रममा मुख्य विद्युत् प्रसारण लाइनमा समेत क्षति पुगेपछि आसपासका करिब १ हजार ७०० घरमा विद्युत् सेवा अवरुद्ध भएको थियो। स्थानीय ऊर्जा कम्पनी प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिकका प्राविधिकले केही घण्टामै प्रसारण लाइन मर्मत गरेपछि विद्युत् सेवा पुनः सञ्चालनमा आएको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्