काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टाभन्दा बढी छलफल गरेका छन्।
मस्कोस्थित क्रेमलिनमा भएको वार्ता रुस–युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित शान्ति खाकामा केन्द्रित रहेको बताइएको छ। क्रेमलिनको ‘रेड ड्रोइङ रुम’मा भएको बैठकमा पुटिन र अमेरिकी दूतहरूको हातमा देखिएका फोल्डरले समेत कूटनीतिक वृत्तमा चासो बढाएको छ।
पुटिनका वैदेशिक मामिला सल्लाहकार युरी उसाकोभका अनुसार अमेरिकी पक्षले युद्ध अन्त्यका लागि नयाँ अवधारणा प्रस्तुत गरेको छ। तर पुटिनले रुसी सेना रणभूमिमा अगाडि बढिरहेको दाबी गर्दै युद्ध अन्त्यका लागि आफूले भन्दै आएको ‘मूल कारण’ सम्बोधन गर्नुपर्ने अडान दोहोर्याएका छन्।
बैठकमा युद्धपछि अमेरिका र रुसबीच हुन सक्ने व्यापार, आर्थिक सहकार्य तथा दीर्घकालीन लगानीका सम्भावित परियोजनाबारे समेत छलफल भएको उसाकोभले बताएका छन्।
पुटिनले शान्ति पहल अघि बढाएको भन्दै राष्ट्रपति ट्रम्पको प्रशंसा गरेका छन्। अमेरिकी प्रतिनिधिमण्डलको यात्रालाई सुरक्षित बनाउन रुसले तीन दिनसम्म युक्रेनमाथि क्षेप्यास्त्र र ड्रोन हमला रोक्ने आदेश दिएको बताइएको छ।
मस्को वार्ता सकिएपछि अमेरिकी दूतद्वय युक्रेनको राजधानी किभतर्फ प्रस्थान गरेका छन्। उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरी पुटिनसँग भएको छलफलका विषयमा जानकारी गराउने जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्