काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद मोहन आचार्यले रसुवाको भोटेकोसी बाढीबाट सिर्जित संकट समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सांसद आचार्यले बाढीपछिको उद्धार, राहत, पुनर्स्थापना र दीर्घकालीन समाधानबारे सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
उहाँले विपद्को प्रारम्भिक चरणमै सुरुङ उद्धारका लागि आवश्यक उपकरण र दक्ष जनशक्ति उपलब्ध हुन नसक्दा उद्धार प्रभावकारी हुन नसकेको दाबी गर्नुभयो। अन्तर्राष्ट्रिय उद्धार टोली मगाउन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरे पनि समयमै निर्णय हुन नसकेको उहाँको भनाइ छ।
बाढी र पहिरोका कारण विस्थापित २ हजार २ सयभन्दा बढी रसुवावासी काठमाडौंका विभिन्न गुम्बा तथा पार्टी प्यालेसमा आश्रय लिएर बसेको जानकारी दिँदै आचार्यले उनीहरूको उचित पुनर्स्थापनाका लागि सरकारले तत्काल पहल गर्नुपर्ने बताउनुभयो।
विपद्का कारण अभिभावक गुमाएका वा बेपत्ता भएका बालबालिकाको भविष्य र परिवारले लिएको ऋणको भार व्यवस्थापनमा समेत सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
आचार्यले अहिलेको विपद् २०७२ सालको भूकम्पभन्दा फरक प्रकृतिको रहेको उल्लेख गर्दै हिमाली तथा पहाडी भूगोल सुहाउँदो र विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा जोड दिनुभयो।
रसुवाका १२ वटा वडा सडक सञ्जालबाट विच्छेद भएको, दैनिक उपभोग्य वस्तु तथा औषधि ढुवानीमा समस्या रहेको र कतिपय क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा अझै सुचारु हुन नसकेको उहाँले बताउनुभयो।
तीन तहका सरकारबीच प्रभावकारी समन्वय गरी सडक तथा सञ्चार सञ्जाल पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै आचार्यले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो हिमताल विस्फोटको जोखिमलाई समेत ध्यानमा राखेर ‘डिजास्टर फ्रेन्डली’ संरचना निर्माण गर्नुपर्ने बताउनुभयो।
चिलिमे, भोटेकोसी र त्रिशूली–३ ‘ए’ लगायत जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीको उद्धार तथा क्षतिग्रस्त आयोजनाका सुरुङको अवस्थाबारे समेत सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने उहाँको माग छ।
बाढीपछि अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको भन्दै सांसद आचार्यले खोज, उद्धार र राहत कार्यलाई थप तीव्रता दिन सरकारसँग आग्रह गर्नुभएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्