काठमाडौं । रसुवामा बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितका टोलीले विभिन्न आयोजनाका पावरहाउस, सुरुङ तथा जोखिमयुक्त क्षेत्रमा प्रवेश गरी खोजी गरिरहेका छन्।
नेपाली सेनाका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली पावरहाउस तथा कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी कार्य गरिरहेको छ।
बाढी तथा पहिरोका कारण आयोजनाका विभिन्न संरचनामा क्षति पुगेपछि सम्भावित रूपमा सम्पर्कविहीन भएका व्यक्तिको अवस्थाबारे जानकारी लिन खोजीलाई प्राथमिकता दिइएको हो।
त्रिशूली–३ ‘ए’मा पावरहाउस र टनेलभित्र खोजी
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावरहाउस तथा टनेलमा पनि नेपाली सेनाको टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
नेपाली सेनाका अनुसार आठजनाको फौज उद्धार उपकरणसहित पावरहाउस तथा सुरुङ क्षेत्रमा परिचालन गरिएको छ।
सेनाले आइतबार दिउँसो जारी गरेको विज्ञप्तिमा “त्रिशूली–३ ‘ए’को पावरहाउस तथा टनेलमा नेपाली सेनाका आठजनाको फौज रेस्क्यु इक्वीपमेन्ट सामग्रीसहित खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको” उल्लेख छ।
जोखिमयुक्त संरचनाभित्र प्रवेश गर्दा आवश्यक सुरक्षा तथा उद्धार उपकरण प्रयोग गरी खोजीलाई निरन्तरता दिइएको छ।
त्रिशूली–३ ‘बी’मा स्काभेटर छिराउने तयारी
त्रिशूली–३ ‘बी’मा भने टनेलमार्फत खोजी गर्ने र ठूला उपकरण परिचालन गर्ने काम सँगसँगै अघि बढाइएको छ।
सेनाका अनुसार अडिट–२ बाट उद्धार टोलीभित्र प्रवेश गरी अडिट–१ बाट बाहिर निस्किएको छ।
अडिट–२ टनेलबाट स्काभेटर लैजान सकिने गरी बाटो सफा गर्ने काम भइरहेको छ।
बाढीका कारण थुप्रिएको लेदो, माटो तथा भग्नावशेषका कारण सुरुङभित्र ठूला उपकरण लैजान चुनौती रहेकाले पहिले पहुँचमार्ग तयार गर्ने कामलाई प्राथमिकता दिइएको हो।
स्काभेटर प्रवेश गर्न सक्ने अवस्था बनेपछि भित्र थुप्रिएको लेदो तथा भग्नावशेष हटाएर खोजीलाई थप प्रभावकारी बनाउन सकिने अपेक्षा गरिएको छ।
चिलिमेमा पावरहाउस नजिक पुग्यो टोली
चिलिमे जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले मिनी स्काभेटर र मड पम्प प्रयोग गरी लेदो हटाउने काम गरिरहेको छ।
नेपाली सेनाका अनुसार टोली पावरहाउसबाट करिब ५०–६० मिटर नजिकसम्म पुगेको छ।
बाढीले ल्याएको लेदो तथा अन्य सामग्री हटाउँदै टोली पावरहाउसतर्फ अघि बढिरहेको हो।
उद्धार कार्यमा मिनी स्काभेटर तथा मड पम्प प्रयोग गरिएको छ। यसले सुरुङ तथा पावरहाउस क्षेत्रमा थुप्रिएको लेदो हटाउँदै सम्भावित स्थानमा खोजी गर्न सहयोग गरिरहेको छ।
स्याफ्रुबेसीबाट स्काभेटर लैजाने काम
चिलिमे क्षेत्रमा उद्धार तथा उत्खननका लागि आवश्यक उपकरण पुर्याउन स्याफ्रुबेसीमा स्लिङ अपरेसनमार्फत स्काभेटर लैजाने काम भइरहेको छ।
भौगोलिक कठिनाइ र सडक तथा पहुँचमार्गमा भएको क्षतिका कारण सामान्य ढुवानीबाट उपकरण लैजान कठिन भएपछि वैकल्पिक व्यवस्थामार्फत स्काभेटर टनेल क्षेत्रमा पुर्याउने प्रयास भइरहेको हो।
ठूला उपकरण घटनास्थलमा पुगेपछि लेदो तथा भग्नावशेष हटाउने काम थप तीव्र हुने अपेक्षा गरिएको छ।
माथिल्लो त्रिशूली–१ मा थर्मल क्यामेराबाट खोजी
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा भने टनेलभित्र थप खोजीका लागि थर्मल क्यामेरा प्रयोग गर्ने तयारी गरिएको छ।
विदेशी प्राविधिकसहितको टोलीले थर्मल क्यामेरामार्फत सुरुङभित्र सम्भावित गतिविधि तथा व्यक्तिको अवस्थाबारे थप जानकारी लिने जनाएको छ।
सुरुङभित्र प्रत्यक्ष रूपमा प्रवेश गर्न जोखिमपूर्ण हुने अवस्थामा प्रविधिको प्रयोगबाट खोजीको दायरा बढाउन सकिने भएकाले थर्मल क्यामेरालाई महत्वपूर्ण उपकरणका रूपमा प्रयोग गर्न लागिएको हो।
पाँच टनेलमा फरक–फरक रणनीति
रसुवाका प्रभावित आयोजनामा उद्धार कार्य एउटै तरिकाबाट नभई घटनास्थलको अवस्था र संरचनाअनुसार फरक–फरक रणनीतिबाट अघि बढाइएको देखिन्छ।
कतै उद्धार टोली प्रत्यक्ष रूपमा सुरुङभित्र प्रवेश गरिरहेको छ भने कतै मिनी स्काभेटर र मड पम्प प्रयोग गरी लेदो हटाउने काम भइरहेको छ। केही स्थानमा ठूला उपकरण पुर्याउन पहुँचमार्ग सफा गरिँदै छ भने माथिल्लो त्रिशूली–१ मा थर्मल क्यामेराजस्ता प्रविधिको प्रयोग गर्ने तयारी भइरहेको छ।
यसरी मानवीय जनशक्ति, भारी उपकरण र प्रविधिको संयोजनबाट खोज तथा उद्धार कार्यलाई तीव्र बनाउने प्रयास भइरहेको छ।
चुनौतीबीच उद्धार निरन्तर
बाढीले सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधारमा क्षति पुर्याएका कारण प्रभावित जलविद्युत् आयोजनासम्म पुग्नै कठिन अवस्था छ। त्यसमाथि टनेल र पावरहाउस क्षेत्रमा थुप्रिएको लेदो तथा भग्नावशेष हटाएर सुरक्षित रूपमा अघि बढ्नु उद्धार टोलीका लागि अर्को चुनौती बनेको छ।
यद्यपि नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितका टोलीले उपलब्ध उपकरण र प्रविधिको प्रयोग गर्दै खोजीलाई निरन्तरता दिएका छन्।
रसुवामा बाढीबाट प्रभावित आयोजनाका सुरुङ तथा पावरहाउसमा अझै खोजी आवश्यक रहेकाले मानवीय खोजीलाई प्राथमिकतामा राख्दै पहुँच विस्तार, लेदो हटाउने र आधुनिक प्रविधिबाट निगरानी गर्ने काम एकैसाथ अघि बढाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्