काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर प्रयोग गरी कृत्रिम बुद्धिमत्ता (एआई)मार्फत निर्मित भ्रामक तथा अपमानजनक सामग्री सामाजिक सञ्जालमा फैलाइएको भन्दै एमालेले आपत्ति जनाएको छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले आइतबार बिहानैदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा ओलीको तस्बिर प्रयोग गरेर एआईबाट तयार पारिएका भ्रामक, अनर्गल तथा अपमानजनक पोस्टरहरू प्रसारित भइरहेको भन्दै आपत्ति जनाएका हुन्।
डिजिटल प्रविधिको दुरुपयोग गरी पार्टी नेतृत्वको चरित्र हत्या गर्ने नियतले यस्ता गतिविधि भइरहेको आरोप लगाउँदै आचार्यले त्यसको घोर निन्दा तथा भर्त्सना गरेका छन्।
उनले यस्ता अराजक, अनैतिक तथा घृणास्पद गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनीसमेत दिएका छन्।
साइबर ब्युरोको ध्यानाकर्षण
एमालेले एआई तथा डिजिटल प्रविधिको दुरुपयोग गर्दै भ्रामक सामग्री उत्पादन र प्रसारण गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको छ।
आचार्यले प्रचलित विद्युतीय कारोबारसम्बन्धी कानुनविपरीत साइबर अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरो तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
पछिल्लो समय एआई प्रविधिको प्रयोगबाट तस्बिर, भिडियो तथा अन्य डिजिटल सामग्रीलाई वास्तविकजस्तै देखिने गरी निर्माण र प्रसार गर्न सकिने भएकाले यसको दुरुपयोगप्रति राजनीतिक दल तथा सार्वजनिक व्यक्तित्वहरूले समेत चिन्ता व्यक्त गर्दै आएका छन्।
एमालेले भने ओलीको तस्बिर प्रयोग गरी तयार पारिएका सामग्रीलाई भ्रामक र अपमानजनक भन्दै त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्