काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नेपाललाई २९ भन्दा बढी देशले मानवीय सहायता र राहत उपलब्ध गराएका छन्। विभिन्न देशले प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली पठाउनुका साथै आपत्कालीन राहत सामग्रीसमेत उपलब्ध गराएका छन्।
परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा नेपालले निकट छिमेकी, मित्रराष्ट्र, अन्तर्राष्ट्रिय संघ–संस्था तथा परोपकारी क्षेत्रबाट निरन्तर सहयोग प्राप्त गरिरहेको जनाएको छ।
“हालसम्म हामीले हाम्रा निकट छिमेकीहरू, मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय संघ–संस्थाहरूका साथै परोपकारीहरूबाट उदार सहयोग प्राप्त गरेका छौँ,” मन्त्रालयले भनेको छ।
२९ देशबाट सहयोग
परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म भारत, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, लात्भिया, लक्जमबर्ग, मलेसिया, म्यान्मार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड र चेक रिपब्लिकले विभिन्न प्रकारका सहायता उपलब्ध गराएका छन्।
त्यस्तै युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघ तथा उसका विशिष्टीकृत एजेन्सीहरू लगायतका अन्तर्राष्ट्रिय संस्थाले पनि प्रभावितलाई सहयोग गरिरहेको मन्त्रालयले जनाएको छ।
भारत र चीनबाट विशेषज्ञ टोली
नेपालका दुई ठूला छिमेकी भारत र चीनले उद्धार तथा राहतमा विशेष सहयोग गरेका छन्।
भारतले सुरुङ तथा उद्धार कार्यमा विज्ञ, चिकित्सक र फोरेन्सिक विज्ञसहितको ठूलो टोली नेपाल पठाएको छ। भारतबाट राहत सामग्रीसमेत ठूलो परिमाणमा उपलब्ध गराइएको छ।
चीनले पनि राहत सामग्रीसँगै सुरुङ विज्ञ तथा फोरेन्सिक विज्ञसहितको टोली नेपाल पठाएको छ।
त्यस्तै दक्षिण कोरिया र सिंगापुरबाट समेत खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन टोली नेपाल आएको छ।
‘अन्तर्राष्ट्रिय ऐक्यबद्धता अझै आवश्यक’
परराष्ट्र मन्त्रालयले नेपालले आफ्नो पहुँचमा रहेका सबै स्रोत र साधन परिचालन गरिरहेको भए पनि विपद्को आकार र जटिलतालाई हेर्दा अन्तर्राष्ट्रिय सहयोग अझै आवश्यक रहेको जनाएको छ।
मन्त्रालयले भनेको छ, “नेपालले आफ्नो पहुँचमा रहेका सबै स्रोत र साधनहरू परिचालन गरेको छ, तर यस विपद्को आकार र जटिलतालाई हेर्दा निरन्तर अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहयोगको आवश्यकता छ भन्ने कुरा हामी महसुस गर्छौं।”
भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि नेपालमा उद्धार, शव व्यवस्थापन, राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग जुटिरहेको छ।
उपलब्ध विवरणअनुसार बाढीमा परी १ हजार ३४१ जनाको मृत्यु भएको छ भने करिब ५ हजार व्यक्ति अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्