काठमाडौं । भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३४२ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा ज्यान गुमाएका मध्ये हालसम्म ९८ जनाको मात्रै सनाखत भएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सनाखत भएका शव परिवारलाई हस्तान्तरण गरिसकिएको छ। बेपत्ता तथा मृतकको पहिचान खुलाउन आफन्त तथा नातेदारको डीएनए परीक्षणसमेत भइरहेको उनले बताइन्।
“९८ वटा शवको सनाखत भइसकेको छ। सनाखत कार्यलाई सजिलो बनाउन आफन्त तथा नातेदारको डीएनए परीक्षणको कार्यसमेत भइरहेको छ,” महतले भनिन्।
प्राधिकरणका अनुसार बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्य अझै जारी छ।
हाल उद्धार टोलीले त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा १६० मिटर, त्रिशूली–३ ‘बी’मा ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म पुगेर खोजी गरिरहेको छ।
सुरुङभित्रको अवस्था र जोखिमलाई ध्यानमा राख्दै उद्धार टोलीले चरणबद्ध रूपमा खोजी अघि बढाइरहेको प्राधिकरणले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्