सुर्खेत । पहिरो खसेपछि कर्णाली राजमार्गको सुर्खेत खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
सुर्खेतको बराहताल गाउँपालिका–७, औलिसेस्थित कर्णाली राजमार्गमा आइतबार साँझ सडक माथिबाट पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
पहिरो खसेको जानकारी प्राप्त भएपछि प्रहरी चौकी बड्डीचौरबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रबहादुर सिंहको कमान्डमा ट्राफिक प्रहरीसहित चारजनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।
सडक खुलाउने विषयमा प्रहरीले सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेको जनाएको छ। तर पहिरो खस्ने क्रम अझै जारी रहेकाले तत्काल पहिरो हटाउने काम अघि बढाउन जोखिम रहेको प्रहरीले जनाएको छ।
पहिरो हटाउनका लागि जेसीबी घटनास्थलमा पुगे पनि पहिरो खस्ने जोखिमका कारण तत्काल सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार पहिरो रोकिएपछि मात्रै सडक खुलाउने काम अघि बढाउन सकिने अवस्था छ। राजमार्ग अवरुद्ध भएपछि कर्णालीतर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्