रसुवा । भोटेकोसी नदीमा भदौ १० गते आएको भीषण बाढीले रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। ल्हेन्दे खोलामार्फत आएको बाढी र त्यसपछिको पहिरोका कारण जिल्लामा ३ हजार ७१ जना अझै सम्पर्कविहीन रहेको स्थानीय प्रशासनले जनाएको छ।
बाढी तथा पहिरोमा परेका १ हजार ३१३ जनाको भने जीवितै उद्धार गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार उद्धार गरिएकामध्ये १ हजार २२७ नेपाली र ८६ विदेशी पर्यटक छन्। उनीहरूलाई सुरक्षाकर्मी तथा स्थानीयवासीको सक्रियतामा उद्धार गरिएको हो।
बाढीपछि विभिन्न स्थानमा अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री तथा स्थानीयवासीलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौंतर्फ सुरक्षित स्थानान्तरण गरिएको छ।
सडक सञ्जाल विच्छेद भएका तथा दुर्गम क्षेत्रमा उद्धार र राहत पुर्याउन हेलिकप्टरको प्रयोग भइरहेको प्रशासनले जनाएको छ।
तर, ठूलो सङ्ख्यामा नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार अभियानलाई थप तीव्र बनाउनुपर्ने अवस्था छ।
सेना, प्रहरी र कर्मचारीसमेत सम्पर्कविहीन
विपद्मा सर्वसाधारणसँगै सुरक्षाकर्मी तथा सरकारी कर्मचारीसमेत सम्पर्कविहीन छन्।
श्रीनाथ गण र ब्राबल ब्यारेकअन्तर्गतका २७ नेपाली सेना, २८ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी, ७९ सरकारी कर्मचारी तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी अझै सम्पर्कमा नआएको प्रशासनले जनाएको छ।
त्यस्तै रसुवाका १ हजार ३७०, अन्य जिल्लाका १ हजार २६२ र २६६ विदेशी पर्यटक सम्पर्कविहीन रहेको सहायक प्रजिअ अधिकारीले जानकारी दिनुभयो।
१६३ शव फेला, सनाखत प्रक्रिया जारी
बाढीपहिरोपछि विभिन्न स्थानमा १६३ शव फेला परेका छन्। तीमध्ये छ जनाको सनाखत गरी आफन्तलाई बुझाइसकिएको छ।
सनाखत भएका मृतकमा उत्तरगया–५ का जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङ छन्।
बाँकी शवको सनाखत प्रक्रिया अघि बढाइएको छ। पाँच शवको सनाखत भइसकेको र अन्यको पहिचान तथा डीएनए परीक्षणका लागि आवश्यक मुचुल्का उठाउने काम भइरहेको प्रशासनले जनाएको छ।
१ हजार ५०० घरमा क्षति
बाढीपहिरोले रसुवाको भौतिक संरचनामा पनि ठूलो क्षति पुर्याएको छ।
प्रारम्भिक विवरणअनुसार जिल्लामा १ हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै २८ सरकारी तथा सार्वजनिक निकाय, आठ सामुदायिक विद्यालय, तीन निजी विद्यालय र १४ बैंक तथा वित्तीय संस्थाका भवनमा क्षति पुगेको छ।
जिल्लाको यातायातको मेरुदण्ड मानिने ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड ठप्प भएको छ।
बाढीले छ पक्की मोटरेबल पुल, आठ ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० झोलुङ्गे पुल बगाएको वा क्षति पुर्याएको छ।
जलविद्युत् क्षेत्र पनि बाढीको चपेटाबाट जोगिन सकेन। जिल्लाका आठ जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ।
७ हजारभन्दा बढी विस्थापित
बाढी र पहिरोका कारण आफ्नो घर तथा थातथलो छाड्न बाध्य भएका ७ हजार ३३ नागरिकलाई १२ वटा सुरक्षित आश्रयस्थलमा राखिएको छ।
धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालय, गणेश आधारभूत विद्यालयलगायत स्थानमा विस्थापित नागरिकका लागि गाँसबासको व्यवस्था मिलाइएको छ।
प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिएको प्रशासनले जनाएको छ।
८३ प्रतिशत क्षेत्रमा विद्युत् पुनः सञ्चालन
विपद्को व्यापक क्षतिका बीच जिल्लाको ८३ प्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ।
नेपाल टेलिकमको सञ्चार सेवा पनि सम्पूर्ण क्षेत्रमा सञ्चालनमा ल्याइएको प्रशासनले जनाएको छ। सञ्चार सेवा पुनः सञ्चालन भएपछि उद्धार, राहत वितरण र विभिन्न निकायबीचको समन्वयमा सहजता आएको छ।
तर ठूलो मानवीय क्षति, हजारौँ नागरिकको बेपत्ता अवस्था र क्षतिग्रस्त सडक तथा पुलका कारण रसुवाको संकट अझै टरेको छैन।
जीवितै उद्धार गरिएका १ हजार ३१३ नागरिकले आशा जगाएका छन् भने सम्पर्कविहीन ३ हजार ७१ जनाको खोजी राज्यका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्