ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुरमा तीन घरको एउटै प्रतीक्षा : ‘बाबा कहिले आउनुहुन्छ?’


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ७ : ३५   बजे

कञ्चनपुर । कृष्णपुर नगरपालिका–३ देखतभुलीको थारू बस्तीमा अहिले अस्वाभाविक सन्नाटा छ।

टिनले छाएको सानो घरको पिँढीमा आफन्तहरू भेला भएका छन्। कोही बाटोतर्फ आँखा लगाइरहेका छन्, कोही हातमा मोबाइल लिएर बसिरहेका छन्। अपरिचित मानिस घरमा पस्नेबित्तिकै उनीहरूका आँखा उसको अनुहारमा पुग्छन्—सायद हराएका आफन्तको खबर पो ल्याएको छ कि !

तर हरेकपटक खबर हुँदैन।

पिँढीछेउको खटियामा पल्टिरहेकी छन् रेखा राना। उनको अनुहारमा चिन्ता छ, आँखामा आँसु। भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि उनका श्रीमान् कालुराम राना सम्पर्कविहीन छन्।

रेखाका लागि अहिले सबैभन्दा ठूलो चाहना कुनै ठूलो खबर होइन। श्रीमान्को एक कल फोन मात्र।

‘दिनमा दुई/तीन पटक फोन आउँथ्यो। तर आजसम्म उहाँको एक कल फोन पनि आएको छैन,’ रेखा भन्छिन्, ‘उहाँविना हामी कति अधुरा छौँ। एक कलका लागि तड्पिरहेका छौँ।’

बिहानको त्यो अन्तिम कुराकानी

कालुराम करिब अढाई वर्षदेखि रसुवाको जलविद्युत् आयोजनामा वेल्डिङको काम गर्दै आएका थिए। असारमा रोपाइँ सकेर उनी फेरि काममा रसुवा फर्किएका थिए।

बाढी आएको दिन बिहानसम्म परिवारसँग उनको कुराकानी भएको थियो।

रातिको काम सकेर कोठामा आएको उनले श्रीमतीलाई बताएका थिए।

‘एक/दुई मिनेट कुरा गरेको थिएँ, त्यसपछि छोराछोरीलाई स्कुल पुर्‍याउन बसमा राख्न गएँ,’ रेखाले भनिन्, ‘मोबाइल हेर्दा त ठूलो बाढी आएको खबर देखेँ। डराएर हतपत श्रीमान्लाई फोन लगाएँ तर सम्पर्क नै भएन।’

त्यसपछि कालुरामको फोन कहिल्यै आएन।

‘बाबा कहिले आउनुहुन्छ?’

कालुरामको घरमा १२ वर्षीय छोरा गौतम र चार वर्षीया छोरी रिया छन्। उनीहरूलाई बाढी, बेपत्ता र मृत्युको अर्थ कति गहिरो हुन्छ भन्ने थाहा छैन।

उनीहरूलाई यत्ति थाहा छ—बाबा घरमा हुनुहुन्न।

र बारम्बार एउटै प्रश्न गर्छन्—

‘बाबा कहिले आउनुहुन्छ?’

रेखाका लागि यो प्रश्नको उत्तर सबैभन्दा कठिन बनेको छ।

‘बच्चा बाबा कहिले आउँछ, फोन लगाऊ भन्छन्। उनीहरूलाई केही थाहा छैन। कसरी सम्झाऊँ, के भनौँ,’ उनी भक्कानिन्छिन्, ‘यत्रो समय भइसक्यो, केही खबर आएको छैन। के खाँदै छन्, के गर्दै छन् होला?’

घर चलाउने, छोराछोरी पढाउने र उपचार गराउने जिम्मेवारी कालुरामकै कमाइमा थियो। परिवारले समूहबाट ऋणसमेत लिएको छ। हरेक महिनाको १३ गते ऋणको किस्ता तिर्नुपर्छ।

कालुरामले अन्तिम कुराकानीमा किस्ता तिर्न पैसा पठाइदिने बताएका थिए।

अब पैसा होइन, परिवारलाई उनको खबर चाहिएको छ।

‘घरमा कमाउने अरू कोही छैनन्। परिवारको खम्बा नै उहाँ हुनुहुन्थ्यो। ऋण बाँकी नै छ,’ रेखाले दुखेसो पोखिन्।

एउटै घरका तीन पुरुष हराए

रेखाको पीडा एक्लो छैन।

उनकै नजिक बसेका विपासी राना र सिन्टो रानाको आँखा पनि उस्तै रसाएका छन्। उनीहरूका श्रीमान् क्रमशः २३ वर्षीय क्रेशन राना र २९ वर्षीय रितेशकुमार राना पनि रसुवाको बाढीपछि सम्पर्कमा छैनन्।

तीनै जना एउटै परिवारका हुन्।

कालुराम क्रेशनका काका हुन् भने रितेश ठूला बुवाका छोरा।

रसुवामा उनीहरू पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेडमार्फत जलविद्युत् आयोजनामा काम गर्थे। तीनै जना एउटै कोठामा बस्दै आएका थिए।

एउटै परिवारका तीन पुरुष एकैपटक सम्पर्कविहीन भएपछि देखतभुलीको यो घरमा अहिले एउटै पीडा बाँडिएको छ—कुनै एकजनाको खबर आए पनि हुन्थ्यो।

‘सेलरी लिएर घर फर्कन्छु भन्नुभएको थियो’

क्रेशन परिवारका एक्ला सन्तान हुन्। उनकी श्रीमती विपासी, डेढ वर्षीया छोरी र वृद्ध आमाबुवा छन्।

एक वर्षअघिसम्म उनी रोजगारीका लागि भारत जाने गर्थे। काका कालुराम जलविद्युत् आयोजनामा काम गर्ने भएकाले उनी पनि त्यतै गएका थिए।

कालुराम र रितेश रोपाइँका लागि घर फर्किएका थिए। क्रेशन भने रसुवामै काम गरिरहेका थिए।

परिवारसँग पर्याप्त खेतीपाती गर्ने जमिन छैन। अधियाँमा खेती र मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारका लागि क्रेशनको कमाइ महत्वपूर्ण थियो।

विपासीसँग उनको अन्तिम कुराकानी बाढी आउनुभन्दा केही दिनअघि भएको थियो।

‘यो महिनाको सेलरी लिएर घर फर्कन्छु भन्नुहुन्थ्यो,’ आँसु झार्दै विपासीले भनिन्, ‘अचानक बाढीको खबर सुन्नुपर्‍यो। हामी चिन्ता नै चिन्ताले मरिरहेका छौँ। चाँडोभन्दा चाँडो उहाँको खोजी गरिदिन सरकारलाई अनुरोध छ।’

रितेशको घरमा पनि उस्तै अँध्यारो

रितेशको घरको अवस्था पनि फरक छैन।

उनकै कमाइबाट घरखर्च चल्ने परिवारमा अहिले वृद्ध आमा, अशक्त दिदी, श्रीमती सिन्टो र छोरी छन्।

भदौ १० गते बिहान करिब ८ बजेतिर सिन्टोले श्रीमान्सँग फोनमा कुरा गरेकी थिइन्।

‘कामबाट आएको र नास्ता खाएर सुत्छु भनेर फोन राख्नुभएको थियो,’ सिन्टोले भनिन्, ‘बाढीको खबर सुनेपछि ९ बजेतिर फोन गरेँ तर उठेन।’

त्यसपछि रितेशको कुनै खबर आएको छैन।

‘परिवारको खम्बा हुनुहुन्थ्यो। कमाउने मान्छे अरू कोही छैन,’ सिन्टोको आवाजमा निराशा झल्किन्छ।

खोजीमा बाढीग्रस्त क्षेत्रदेखि काठमाडौंसम्म

क्रेशनका बुवा नन्दकिशोर आफ्ना छोरा र परिवारका अन्य सदस्यको खोजीका लागि बाढीग्रस्त क्षेत्रदेखि काठमाडौंसम्म पुगेका छन्।

तर खोजीको परिणाम अझै हात लागेको छैन।

केही दिनअघि तीनै जनाका परिवारले डीएनए नमुना पनि दिएका छन्। महाकाली प्रादेशिक अस्पतालले क्रेशनकी आमा, कालुरामका छोरा र रितेशकी छोरीको डीएनए नमुना लिएको हो।

डीएनए नमुना दिनु परिवारका लागि आशा र त्रासबीचको अर्को अध्याय हो। उनीहरू जीवितै फर्किने आशा गरिरहेका छन्, तर कम्तीमा शव पहिचान गर्न सकिने खबरको प्रतीक्षा गर्नुपर्ने अवस्था पनि उनीहरूलाई महसुस भइरहेको छ।

मोबाइलको घण्टीसँगै फर्किन्छ आशा

बाढी आएको दिनदेखि देखतभुलीका यी परिवारका लागि मोबाइल केवल सञ्चारको साधन रहेन। त्यो आशाको प्रतीक बनेको छ।

अपरिचित नम्बरबाट फोन आउँदा मुटु ढक्क फुल्छ। केही सेकेन्डका लागि लाग्छ—सायद हराएका आफन्तको खबर आयो।

तर फोन अर्कैको हुन्छ।

फेरि उही मौनता।

उही प्रतीक्षा।

उही प्रश्न—उहाँहरू कहाँ छन् ?

रसुवाको बाढीले कञ्चनपुरका यी परिवारबाट आफ्ना मान्छे मात्र खोसेको छैन, उनीहरूको दैनिक जीवनलाई पनि अनिश्चित प्रतीक्षामा बदलिदिएको छ। बच्चाहरू बुवाको बाटो हेरिरहेका छन्। श्रीमतीहरू श्रीमान्को फोन पर्खिरहेका छन्। वृद्ध आमाबुवा छोराको खबर सुन्न चाहन्छन्।

समय बितिरहेको छ। आशा कमजोर हुँदै गएको छ।

तर पूर्ण रूपमा मरेको छैन।

किनकि रेखा, विपासी र सिन्टोका लागि अझै एउटा सानो सम्भावना बाँकी छ—

मोबाइलको घण्टी बजोस्। उताबाट आफ्नै मान्छेको आवाज सुनियोस्—‘म ठिक छु।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा ज्यान गुमाएकामध्ये २४४ शव शिक्षण अस्पतालमा

बाढीले चुमनुब्रीमा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

सम्बन्धित

पहिरोले कर्णाली करिडोर अवरुद्ध, दुई दर्जनभन्दा बढी पर्यटक अलपत्र

विपत्तिमा पनि दलहरूको अलमल : सर्वदलीय संयन्त्र कहाँ अड्कियो ?

रोल्पाको सहिदमार्ग अवरुद्ध

१५ सेकेन्डले जोगिएको ज्यान : टिमुरे बाढीबाट बाँचेका तीन कर्मचारी फेरि सहकर्मी खोज्न फिल्डमा

रसुवामा बाढीको कहर : ३ हजार ७१ अझै सम्पर्कविहीन, १ हजार ३१३ को जीवितै उद्धार

काजकिरिया चल्दै गर्दा जीवितै उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu