काठमाडौं । भदौ १० गते चीन र नेपालबीचको प्रमुख व्यापारिक नाका रसुवागढी हुँदै बग्ने भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्यायो। विपद्को खबरसँगै नेपालका छिमेकी तथा मित्रराष्ट्रहरू उद्धार र राहतका लागि अघि सरे।
भारतले बाढी आएको दिनकै रात राहत सामग्री नेपाल पठायो। त्यसपछि चीन, अमेरिका, अस्ट्रेलिया र दक्षिण कोरियाबाट समेत सैन्य कार्गो तथा बहुउद्देश्यीय विमान राहत सामग्री र उद्धार उपकरण बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न थाले।
यसले विपद्को घडीमा नेपालले अन्तर्राष्ट्रिय सहयोग पाएको देखिए पनि नेपाली आकाशमा सैन्य विमानमार्फत आफ्नो क्षमता र उपस्थिति प्रदर्शन गर्ने शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धाको अर्को दृश्यसमेत देखायो।
यस्तो दृश्य नेपालका लागि नयाँ भने होइन। २०७२ सालको भूकम्पका बेला विभिन्न देशका सैन्य विमान तथा हेलिकप्टर ठूलो संख्यामा नेपाल आएका थिए। विदेशी सैन्य टोलीबीच प्रभावकारी समन्वय गर्न नेपाली सेनालाई त्यतिबेला निकै चुनौती भएको थियो।
यसपटक भने विदेशी सैन्य सहयोग मुख्यतः राहत सामग्री, उद्धार उपकरण तथा विशेषज्ञ टोलीमा केन्द्रित देखिएको छ।
भारत : सी–१३० जे र सी–१७ मार्फत करिब ९५ टन राहत
भोटेकोसी बाढीपछि नेपालमा सबैभन्दा पहिले सहयोग पुर्याउने मुलुक भारत बन्यो।
भारतीय वायुसेनाको सी–१३० जे सुपर हर्कुलस विमानले बाढी आएको राति दिल्ली नजिकैको हिन्डन वायुसेना स्टेसनबाट राहत सामग्री बोकेर नेपालका लागि उडान भरेको थियो।
विमानले पाल, कम्बल, स्वच्छता सामग्री, सौर्य बत्ती, अत्यावश्यक औषधि तथा चिकित्सा सामग्रीसहित करिब १० टन राहत सामग्री ल्याएको थियो।
भदौ ११ गते भारतीय वायुसेनाको सी–१७ ग्लोबमास्टर काठमाडौँ आयो। उक्त विमानले करिब ३७.५ टन राहत सामग्री ल्याएको थियो। त्यसमा पाल, कम्बल, स्वच्छता सामग्री, सौर्य बत्ती, पानी निकाल्ने पम्प, किचन सेट, जेनेरेटर, औषधि तथा खाद्य सामग्री थिए।
त्यसपछि सी–१३० जेले भदौ १२ गते थप १० टन, भदौ १४ गते ११ टन राहत सामग्री ल्यायो। भदौ १७ गते सोही विमान ११ सदस्यीय विशेष सुरुङ उद्धार टोलीसहित काठमाडौँ आएको थियो।
भदौ १८ गते भारतीय वायुसेनाका दुई सी–१३० जे विमानले थप २१.५ टन राहत सामग्री ल्याए।
यसरी सी–१३० जेले ६ पटक र सी–१७ ग्लोबमास्टरले एकपटक गरी भारतीय वायुसेनाका सैन्य विमानले सात उडान गरिसकेका छन्। यी उडानमार्फत करिब ९५ टन राहत सामग्री नेपाल आएको छ।
चीन : वाई–२० मार्फत राहत र विशेषज्ञ टोली
चीनले पनि आफ्नो अत्याधुनिक सैन्य कार्गो विमान वाई–२०मार्फत नेपालमा राहत पठायो।
भदौ १४ गते चिनियाँ जनमुक्ति सेना (पीएलए)को पश्चिम कमान्ड थिएटरबाट दुई वाई–२० विमान काठमाडौँ आएका थिए। ती विमान छेन्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए।
करिब तीन घण्टापछि काठमाडौँ आइपुगेका विमानमा १३ हजार २०० वटा राहत तथा उद्धार सामग्री थिए।
चिनियाँ दूतावास तथा विदेश मन्त्रालयका अनुसार दुई विमानले करिब ५० टन राहत सामग्री ल्याएका थिए। त्यसमा पाल, कम्बल, सुत्ने झोला, सुख्खा खाद्य सामग्री, प्राथमिक उपचार सामग्री तथा आकस्मिक उद्धार किट थिए। साथै चार जना टनेल उद्धार विशेषज्ञसमेत आएका थिए।
भदौ १६ गते वाई–२० पुनः काठमाडौँ आयो। यसपटक विमानमा चारवटा ड्रोन, डीएनए परीक्षण उपकरण, पानी शुद्धीकरण उपकरण, प्रकाश उपकरण तथा पाँच जना डीएनए पहिचान विशेषज्ञ थिए।
त्यसपछि चिनियाँ वाई–२० फेरि १० जना फरेन्सिक विज्ञसहित नेपाल आएको थियो।
यसरी पीएलएको वाई–२० विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार पटक अवतरण गरिसकेको छ।
अमेरिकाको सी–१३० जे : जापानबाट ४० टनभन्दा बढी राहत
विश्व महाशक्ति अमेरिकाले पनि सी–१३० जे सुपर हर्कुलसका दुई विमानमार्फत नेपालमा ४० टनभन्दा बढी राहत सामग्री पठायो।
भदौ १७ गते नेपाल आएका अमेरिकी विमानले करिब ५ हजार उद्धार सामग्री, ५०० प्राथमिक उपचार किट, स्ट्रेचर तथा फ्रन्ट–एन्ड लोडरसहितका सामग्री ल्याएको अमेरिकाले जनाएको छ।
यूएस प्यासिफिक कमान्डका अनुसार ती विमान जापानस्थित योकोटा एयर बेसमा रहेको ३६औँ एयरलिफ्ट स्क्वाड्रनका हुन्।
अमेरिकी वायुसेनाका यी विमान विशेषगरी आपत्कालीन राहत सामग्री तथा सैन्य ढुवानीका लागि प्रयोग हुने कार्गो विमान हुन्।
अस्ट्रेलिया र दक्षिण कोरियाबाट पनि सैन्य विमान
भारत, चीन र अमेरिकाबाहेक रोयल अस्ट्रेलियन एयर फोर्सको सी–१७ ग्लोबमास्टर तथा दक्षिण कोरियाको वायुसेनाको मल्टिरोल ट्रान्सपोर्ट/ट्याङ्कर विमान पनि राहत सामग्रीसहित नेपाल आएका छन्।
यी विमानमार्फत राहत सामग्रीसँगै तालिमप्राप्त उद्धार कुकुर, ड्रोनलगायतका उपकरणसमेत ल्याइएको छ।
यसले भोटेकोसी बाढीपछि नेपाललाई प्राप्त अन्तर्राष्ट्रिय सैन्य सहयोगको दायरा भारत र चीनमा मात्र सीमित नरहेको देखाउँछ।
राहतसँगै रणनीतिक सन्देश
विपद्का बेला विदेशी सैन्य विमानको आगमनलाई केवल मानवीय सहयोगका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। विशेषगरी भारत, चीन र अमेरिकाजस्ता शक्ति राष्ट्रले प्रयोग गरेका सैन्य कार्गो विमानले मानवीय सहयोगसँगै आफ्नो रणनीतिक क्षमता र प्रभाव प्रदर्शन गर्ने अवसरसमेत प्रदान गर्छन्।
चीनले वाई–२० पठाएर विपद्का बेला नेपाललाई सहयोग गर्न आफ्नो सैन्य ढुवानी क्षमता प्रयोग गर्न सक्ने सन्देश दिएको छ।
भारतले भने बाढी आएको दिनकै रात राहत पठाएर नेपालसँगको भौगोलिक निकटता र तत्काल प्रतिक्रिया दिन सक्ने क्षमता प्रदर्शन गरेको छ।
अमेरिकाको हकमा जापानस्थित सैन्य आधारबाट सी–१३० जे पठाइनुले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य तथा मानवीय एयरलिफ्ट क्षमताको अर्को पक्ष देखाउँछ।
सी–१७ क्षमतामा अगाडि, वाई–२० गतिमा
भारतको सी–१७ ग्लोबमास्टर र चीनको वाई–२० दुवै रणनीतिक सैन्य कार्गो विमान हुन्। क्षमताका हिसाबले सी–१७ ग्लोबमास्टर अगाडि देखिन्छ।
सी–१७ ले वाई–२० भन्दा करिब २२ टन बढी कार्गो बोक्न सक्छ। चीनका दुई वाई–२० ले भदौ १४ गते करिब ५० टन राहत सामग्री ल्याउँदा भारतको सी–१७ ले एकपटकको उडानमा ३७.५ टन सामग्री ल्याएको थियो।
यद्यपि दुवै विमानले आफ्नो अधिकतम क्षमताअनुसार कार्गो बोकेका थिएनन्।
गतिको हिसाबले भने वाई–२० अगाडि छ। वाई–२० को अधिकतम गति करिब ९२० किलोमिटर प्रतिघण्टा रहेको बताइन्छ भने सी–१७ ग्लोबमास्टर करिब ८३३ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ।
भारतीय सी–१३० जेको तुलनामा पनि वाई–२० ठूलो तथा उच्च रणनीतिक ढुवानी क्षमता भएको विमान हो।
यसर्थ, भारतीय सी–१७ भारी कार्गो क्षमतामा बलियो देखिँदा चिनियाँ वाई–२० पनि उच्च गति र रणनीतिक एयरलिफ्ट क्षमताका कारण महत्वपूर्ण सैन्य ढुवानी विमानका रूपमा प्रस्तुत भएको छ।
भारतको एमआई–१७ हेलिकप्टर किन आएन?
यसपटक भारतले नेपाललाई ठूलो क्षमताको एमआई–१७ हेलिकप्टर पठाउने प्रस्तावसमेत गरेको थियो। तर नेपालको भौगोलिक अवस्था र तत्कालको उद्धार आवश्यकतालाई ध्यानमा राख्दै उक्त प्रस्ताव स्वीकार गरिएन।
२०७२ सालको भूकम्पको अनुभव पनि यस निर्णयको पृष्ठभूमिमा जोडिएको छ।
भूकम्पपछि नेपाल सरकारको अनुरोधमा १८ देशका करिब ४ हजार ३१९ सैन्य जनशक्ति उद्धार तथा राहतका लागि नेपाल आएका थिए। विदेशी सैन्य टोलीबीच समन्वय ठूलो चुनौती बनेपछि नेपाली सेनाले मल्टिनेसनल मिलिटरी कोअर्डिनेसन सेन्टर (एमएनएमसीसी) गठन गरेको थियो।
यसपटक भने विदेशी सैन्य मिसन त्यति ठूलो स्तरमा परिचालन भएको छैन।
नेपाली सेनाका एक अधिकारीका अनुसार अहिले विपद् व्यवस्थापनको नेतृत्व नुवाकोटको त्रिशूलीमा रहेको विपद् कमान्ड हेडक्वार्टरबाट भइरहेको छ। त्यसको कमान्ड उपरथी रञ्जित थापाले गरिरहेका छन् भने धुन्चेमा ट्याक्टिकल हेडक्वार्टर सञ्चालनमा छ।
“अहिले विदेशी सैन्य सहायतालाई भूकम्पमा जसरी समन्वय गर्न परेको छैन। राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि सहज समन्वय भइरहेको छ,” ती अधिकारीले भने।
उनका अनुसार अहिलेको भौगोलिक अवस्थाका कारण ठूलो हेलिकप्टरको उपयोगिता पनि सीमित छ।
“हिमाली भूभाग र नदीका खोँच दलदले माटोले पुरिएका छन्। हाम्रो सेना ज्यानको बाजी राखेर सुरुङभित्र छिरेका छन्। अत्यावश्यक उपकरण उद्धारस्थलमा लैजानसमेत कठिन भएको छ,” उनले भने।
२०७२ को अनुभव : विदेशी सहयोग, तर राष्ट्रिय नेतृत्व महत्वपूर्ण
नेपाली सेनाको युनिटी जर्नल, खण्ड ६, अंक १ मा सन् २०२५ मा प्रकाशित तत्कालीन मेजर जनरल तथा सैनिक कार्य महानिर्देशक अनुपजंग थापाको ‘सन् २०१५ को नेपाल भूकम्पबाट अन्तर्राष्ट्रिय समन्वयका सिकाइहरू’ शीर्षकको अनुसन्धानात्मक आलेखले पनि यही पक्षलाई जोड दिएको छ।
उनको निष्कर्ष थियो—विपद्को समयमा अन्तर्राष्ट्रिय सैन्य सहयोग आवश्यक भए पनि विदेशी सेनाले प्रभावित देशको राष्ट्रिय नेतृत्व र संयन्त्रलाई विस्थापित गर्नु हुँदैन। बरु त्यही संयन्त्रलाई बलियो बनाउँदै त्यसैमार्फत काम गर्नुपर्छ।
२०७२ को भूकम्पमा नेपाली सेनाले विदेशी सैन्य टोलीसँग समन्वय, स्रोत परिचालन, आतिथ्य राष्ट्रसँगको सम्पर्क, विदेशी टोलीका फरक नीति–नियम तथा उनीहरू फर्किएपछिको व्यवस्थापनलगायतका चुनौती सामना गरेको थियो।
त्यसै क्रममा अमेरिकी मरीन कर्प्सको यूएच–१वाई हेलिकप्टर दोलखाको कालिञ्चोक क्षेत्रमा दुर्घटना हुँदा ६ अमेरिकी सैनिक, दुई नेपाली सैनिक र पाँच स्थानीयको मृत्यु भएको थियो।
यसपटक नेपाली सेनाले विगतको अनुभवबाट पाठ सिक्दै विदेशी सैन्य सहयोगलाई राष्ट्रिय समन्वय र कमान्ड संरचनाभित्र राखेर परिचालन गर्ने नीतिलिएको देखिन्छ।
विपद्मा सहयोग कि शक्ति प्रदर्शन?
भोटेकोसी बाढीपछि नेपाल आएका विदेशी सैन्य विमानले तत्कालका लागि महत्वपूर्ण मानवीय सहयोग पुर्याएका छन्। राहत सामग्री, उद्धार उपकरण, ड्रोन, डीएनए परीक्षण सामग्रीदेखि सुरुङ उद्धार तथा फरेन्सिक विशेषज्ञसम्मको सहयोगले नेपाललाई प्रत्यक्ष फाइदा पुगेको छ।
तर यी विमानको उपस्थितिले अर्को प्रश्न पनि उठाएको छ—के विपद्को मैदान शक्ति राष्ट्रहरूको मानवीय सहयोगको प्रतिस्पर्धा गर्ने थलो पनि बन्दैछ?
भारत, चीन र अमेरिकाले फरक–फरक सैन्य प्लेटफर्ममार्फत नेपालमा आफ्नो एयरलिफ्ट क्षमता प्रदर्शन गरेका छन्। अस्ट्रेलिया र दक्षिण कोरियाको सहभागिताले यसलाई अझ व्यापक बनाएको छ।
नेपालका लागि भने प्राथमिकता स्पष्ट हुनुपर्छ—विपद्मा आउने अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ, तर त्यसको परिचालन नेपालको आवश्यकता, राष्ट्रिय नेतृत्व र नेपाली सुरक्षा संयन्त्रको कमान्डमै हुनुपर्छ।
भोटेकोसी बाढीले नेपाललाई मानवीय विपत्तिसँगै अर्को रणनीतिक पाठ पनि दिएको छ : संकटको समयमा मित्रराष्ट्रको सहयोग स्वागतयोग्य हुन्छ, तर सहयोगको नेतृत्व र प्राथमिकता भने नेपालकै हातमा हुनुपर्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्