काठमाडौं,४ कात्तिक । पार्टीको आन्तरिक विवाद र दसैंका कारण लगातार दुई पटक स्थगित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालयको दुई दिने बैठक आइतबारदेखि सुरु हुने भएको छ ।
गत असोज २४ र २७ गते बस्न नसकेको सचिवालय बैैठक आइतबार बिहान बस्ने सचिवालयले जानकारी दिएको छ ।
बैठकमा पार्टी संगठनहरुको एकीकरण, केन्द्रीय आयोग र विभागहरुको गठनबारे केन्द्रीत हुने छ । यस्तै पार्टी, संसद र सरकार सञ्चालनका विषयहरु पनि बैठकको एजेण्डा बन्ने जनाइएको छ । बैठकमा सचिवालय, स्थायी कमिटि र केन्द्रीय सदस्यको कार्यविभाजनबारे पनि छलफल हुनेछ ।
एमाले र माओवादीबीच एकता भएको पाँच महिना बितिसक्दा पनि गठन हुन नसकेको पोलिटव्युरोको एजेण्डा पनि बैठकमा प्रवेश गर्ने सम्भांवना रहेको बताइएको छ । यस्तै, वरिष्ठ नेता माधव नेपालले प्रदेश नेतृत्व छनौटबारे पटकपटक सार्वजनिक र औपचारिकरुपमा व्यक्त गर्दै आएको असन्तुष्टीबारे समेत छलफल हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्