चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि तय गरिएको निर्वाचन तालिका पुनः संशोधन गरिएको छ। महाधिवेशनको व्यवस्थापन र निर्वाचन प्रक्रियामाथि लगातार प्रश्न उठिरहेका बेला निर्वाचन आयोगले पाँचौँ पटक तालिका परिवर्तन गर्दै मतदानको समय मध्यरातसम्म लम्ब्याएको हो।

संशोधित तालिकाअनुसार अब पार्टीका पदाधिकारीहरूको निर्वाचनका लागि आज राति ९:१५ बजेदेखि १२:१५ बजेसम्म मतदान हुनेछ। यसअघि तय गरिएका समयसीमाहरू पटक–पटक सारिँदै जाँदा प्रतिनिधि र उम्मेदवारहरूबीच असन्तुष्टि बढिरहेको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको नयाँ कार्यतालिकाअनुसार साँझ ६:३० बजेदेखि ७ बजेसम्म उम्मेदवारी फारम वितरण, ७:३० बजे प्रारम्भिक उम्मेदवार सूची प्रकाशन, ८ बजेसम्म दाबी–विरोध, ८:१५ बजे छानबिन, ८:३० बजेसम्म उम्मेदवारी फिर्ता, र ८:४५ बजे अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिनेछ।
त्यसपछि राति ९:१५ बजेसम्म मौन अवधि कायम गरिनेछ भने ९:१५ बजेदेखि १२:१५ बजेसम्म मतदान सञ्चालन गरिनेछ।
निर्वाचन समितिका अनुसार मतगणना राति १२:१५ बजेदेखि १:१५ बजेसम्म गरिनेछ र अन्तिम परिणाम राति १:३० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ।
पदाधिकारी चयनको प्रतिस्पर्धा
रास्वपाको सभापतिमा रवि लामिछाने तथा वरिष्ठ नेतामा बालेन शाह यसअघि नै सर्वसम्मत चयन भइसकेका छन्। अब बाँकी रहेका उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुन लागेको हो।
पार्टी विधानअनुसार १९ सदस्यीय पदाधिकारी टोलीमध्ये केही पद मनोनयनमार्फत पूर्ति हुने व्यवस्था भए पनि बाँकी पदका लागि प्रत्यक्ष निर्वाचन हुँदैछ।
व्यवस्थापनमाथि बढ्दो प्रश्न
महाधिवेशनको पहिलो चरणमा नै भोटिङ मेसिन, उम्मेदवारको नामावली, क्लस्टर व्यवस्थापन तथा मतदान प्रक्रियालाई लिएर व्यापक विवाद भएको थियो। निर्वाचन तालिका पटक–पटक परिवर्तन हुनुले पार्टीको संगठनात्मक क्षमता र व्यवस्थापनमाथि थप प्रश्न उठाएको छ।
पहिलो चरणको मतदानमा ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मतदान गरेका थिए भने १ हजार ३५२ प्रतिनिधि अनुपस्थित रहेका थिए। ढिलाइ, अव्यवस्था र प्रतिनिधिहरू घर फर्किन थालेका कारण सहभागिता अपेक्षाभन्दा निकै कम भएको नेताहरूको भनाइ छ।
रास्वपाले आफूलाई ‘नयाँ राजनीतिक शक्ति’ र ‘वैकल्पिक दल’ का रूपमा प्रस्तुत गर्दै आएको भए पनि महाधिवेशनमा देखिएको अव्यवस्था र लगातारको तालिका संशोधनले पार्टीभित्रै आलोचना चर्किँदै गएको छ। अहिले सबैको ध्यान मध्यरातसम्म चल्ने पदाधिकारी निर्वाचन र त्यसको परिणामतर्फ केन्द्रित भएको छ।







प्रतिक्रिया दिनुहोस्