काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार साँझ बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा उनले ५७ मत प्राप्त गर्दै विश्वासको मत हासिल गरेका हुन्।
१०४ सदस्यीय बागमती प्रदेश सभामा विश्वासको मतका लागि कम्तीमा ५३ मत आवश्यक थियो। मुख्यमन्त्री थापालाई नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले समर्थन गरेका हुन्।
विश्वासको मतअघि सत्ता गठबन्धनभित्र मन्त्रालयको भागबण्डा, मन्त्री छनोट र शक्ति बाँडफाँटलाई लिएर नेपाली कम्युनिस्ट पार्टीका केही सांसद असन्तुष्ट देखिएका थिए। उनीहरू प्रदेश सभा बैठकमा सहभागी हुने वा नहुने विषयमा समेत अन्योल देखिएपछि मुख्यमन्त्रीको विश्वासको मतलाई लिएर चासो बढेको थियो।
प्रदेश सभा बैठक सुरु हुनुअघि सत्तारुढ तीन दलबीच ६ बुँदे राजनीतिक सहमति भएपछि गठबन्धनभित्रको असन्तुष्टि केही हदसम्म मत्थर भएको थियो।
ह्विपविपरीत राप्रपाका ७ सांसदको मतदान
विश्वासको मतको क्रममा राप्रपाभित्रको विवाद पनि सतहमा देखिएको छ। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन ह्विप जारी गरेकी थिइन्।
तर, राप्रपाका सात जना सांसदले ह्विपविपरीत मतदान गर्दै मुख्यमन्त्री थापाको पक्षमा मत दिएका छन्।
विश्वासको मतको पक्षमा मतदान गर्ने राप्रपा सांसदहरूमा संसदीय दलका नेता उद्धव थापा, गिरबहादुर तामाङ, राजु श्रेष्ठ, राजेन्द्र प्रजापति, मनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङ रहेका छन्।
एमालेका २४, नेकपाका २६ र राप्रपाका ७ सांसदको समर्थनसँगै मुख्यमन्त्री थापाले कुल ५७ मत प्राप्त गरेका हुन्।
राप्रपा केन्द्रले पार्टी निर्देशनविपरीत सरकार गठनमा समर्थन गरेको आरोपमा उद्धव थापालगायत केही सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाइसकेको अवस्थामा उनीहरूले पुनः मुख्यमन्त्रीको पक्षमा मतदान गरेका छन्। यससँगै बागमती प्रदेशको सत्ता समीकरण र राप्रपाभित्रको आन्तरिक विवाद थप पेचिलो बन्ने देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्