मुक्तिनाथ (मुस्ताङ) । उपल्लो मुस्ताङको ऐतिहासिक लोमन्थाङमा रहेका ६ सय वर्षभन्दा पुराना चोर्टेनहरू संरक्षण र जीर्णोद्धारको पर्खाइमा छन्। प्राचीन पर्खालले घेरिएको माटोको शहर लोमन्थाङ तथा आसपासका क्षेत्रमा रहेका दर्जनौं ऐतिहासिक चोर्टेन सडक सञ्जाल विस्तार, प्राकृतिक विपत्ति र पर्याप्त संरक्षणको अभावका कारण जोखिममा पर्दै गएका छन्।
तत्कालीन आमेपाल राजाले स्थापना गरेको लोमन्थाङ शहरमा दरबारसँगै १३औँदेखि १७औँ शताब्दीबीच बौद्ध धर्म र तिब्बती वास्तुकलामा आधारित विभिन्न चोर्टेन निर्माण गरिएको इतिहास पाइन्छ। गुम्बा, बस्ती र प्राचीन पदमार्ग आसपास रहेका यी संरचनाहरू उपल्लो मुस्ताङको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानका महत्वपूर्ण सम्पदा मानिन्छन्।
स्थानीयवासीको सक्रियतामा केही चोर्टेनको संरक्षण हुँदै आए पनि संघीय र प्रदेश सरकारले पुनर्निर्माण तथा मर्मतसम्भारलाई पर्याप्त प्राथमिकता नदिएको स्थानीयको गुनासो छ।
सडक विस्तारसँगै ओझेलमा पुराना सम्पदा
कालिगण्डकी करिडोर र कोरला नाकासम्म सडक सञ्जाल विस्तार भएपछि पुराना पदमार्ग आसपास रहेका चोर्टेनहरू ओझेलमा पर्न थालेका छन्। कतिपय संरचना जीर्ण अवस्थामा पुगेका छन् भने प्राकृतिक विपत्ति र २०७२ सालको विनाशकारी भूकम्पले समेत धेरै चोर्टेनमा क्षति पुर्याएको थियो।
लोमन्थाङ, ताङ्बे, छुसाङ, घिलिङ, छुङ्गर, चराङ तथा तिब्बत सीमा नजिकको छोसेर क्षेत्रमा रहेका चोर्टेन र चोर्टेन गेटहरू प्राचीन हिमाली सभ्यताका महत्वपूर्ण प्रतीकका रूपमा रहेका छन्।
लो–ध्याकर दामोदरकुण्ड गाउँपालिका–१, मराङस्थित घार गुम्बा आसपास मात्र एक सयभन्दा बढी समान आकारका चोर्टेन रहेको बताइन्छ। यी संरचनाले उपल्लो मुस्ताङको प्राचीन बौद्ध संस्कृति र वास्तुकलाको इतिहास बोकेका छन्।
तिब्बती बौद्ध वास्तुकलाका उत्कृष्ट नमुना
महाकरुणा साकेपा विद्यालय लोमन्थाङका प्रिन्सिपल पासाङ गुरुङका अनुसार चोर्टेनहरूमा बौद्ध धर्मका आठ शुभ चिन्ह, ड्रागन, विभिन्न पशुपंक्षी, फूल तथा आकर्षक भित्तेचित्र प्रस्तुत गरिएका छन्।
परम्परागत ज्ञान र सीप प्रयोग गरी तिब्बती धार्मिक वास्तुकला तथा परम्पराका आधारमा निर्माण गरिएका चोर्टेन पञ्चतत्वको अवधारणामा आधारित हुने उहाँले बताउनुभयो।
गुरुङका अनुसार चोर्टेन बुद्धका शिक्षाका प्रतीक हुन्। बौद्ध धर्मावलम्बीहरूले पुण्य सञ्चय, नकारात्मक कर्मको शुद्धीकरण तथा आत्मालाई बौद्ध ज्ञानको मार्गतर्फ डोर्याउने धार्मिक विश्वासका आधारमा यस्ता संरचना निर्माण गर्ने गरेका छन्।
“शताब्दीयौँ पुराना चोर्टेनको संरक्षणका लागि विशेष ध्यान दिन आवश्यक छ,” उहाँले भन्नुभयो।
संरक्षणमा स्थानीय र एक्यापको पहल
जीर्ण बन्दै गएका चोर्टेनको संरक्षणका लागि स्थानीय समुदायसँगै दातृ निकाय, बौद्ध गुम्बा, स्थानीय तह तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले विभिन्न समयमा सहयोग गर्दै आएका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, लोमन्थाङका प्रमुख उमेश पौडेलका अनुसार चोर्टेन तथा गुम्बाको मर्मतसम्भारका लागि वार्षिक रूपमा ३० लाख रुपैयाँभन्दा बढी सहयोग उपलब्ध गराइँदै आएको छ।
पौडेलले उपल्लो मुस्ताङका चोर्टेनलाई परम्परागत तिब्बती बौद्ध वास्तुकलाका उत्कृष्ट नमुना मात्र नभई स्थानीय सांस्कृतिक पहिचानका जीवित भण्डारका रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
तीनै तहको सरकारबाट संरक्षणको माग
स्थानीय जानकारहरूले मुस्ताङका पाँचवटै स्थानीय तहमा रहेका गुम्बा तथा चोर्टेनको विस्तृत अभिलेख तयार गरी संघ, प्रदेश र स्थानीय सरकारले संयुक्त रूपमा संरक्षण योजना बनाउनुपर्ने बताएका छन्।
मुस्ताङ आउने आन्तरिक तथा विदेशी पर्यटकका लागि हिमाली भूगोल, प्राचीन गुम्बा, राजदरबार र चोर्टेन प्रमुख आकर्षणका रूपमा रहेका छन्। त्यसैले यी संरचनाको संरक्षणलाई केवल धार्मिक सम्पदाको रूपमा मात्र नभई सांस्कृतिक पर्यटनसँग जोडेर हेर्नुपर्ने आवश्यकता देखिएको छ।
उपल्लो मुस्ताङका पुराना चोर्टेन अहिले इतिहास, धर्म, कला र हिमाली सभ्यताका मौन साक्षीका रूपमा उभिएका छन्। तर सडक विस्तार, प्राकृतिक क्षति र समयको प्रभावसँगै यी संरचना संरक्षणको पर्खाइमा छन्।
स्थानीयको प्रयास मात्र पर्याप्त नहुने भन्दै पुरातात्त्विक, धार्मिक र पर्यटकीय महत्व बोकेका यी ६ सय वर्ष पुराना सम्पदाको संरक्षणका लागि तीनै तहका सरकारले दीर्घकालीन योजना र पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने माग उठ्न थालेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्