ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गमका जनतालाई स्वास्थ्य सेवा पाउन सकस


admin
९ मंसिर २०७५, आइतबार   १ : ५४   बजे

बेनी, ९ मङ्सिर । रघुगंगा गाउँपालिका–८ कुईनेखानीका स्थानीयवासीलाई प्राथमिक स्वास्थ्य सेवा लिन पनि ४ घण्टा भन्दा बढीको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक रुपमा विकट कुईनेदेखि वडाको एउटै स्वास्थ्य संस्था घ्याँसीखर्कस्थित स्वास्थ्य चौकीमा सेवा लिन जान उनीहरुलाई घण्टौं हिँड्नुको अर्को विकल्प छैन ।

छरिएर बस्तीहरु रहेको यस वडामा स्वास्थ्य चौकीसम्म पुग्न पात्लेखर्क, छरी र मंगलेका स्थानीयवासीलाई साढे १ घण्टा भन्दा बढी पैदल हिँड्नुपर्छ । यातायातको सहज पहुँच नपुगेका कारण यस वडावासीलाई स्वास्थ्य सेवाको उपलब्धता सहज नबनेको पात्लेखर्कका युवक अंकित पुनले बताउनुभयो ।

“दुर्गम क्षेत्र भएकाले यहाँ स्वास्थ्य सेवा लिन निकै पेचिलो छ, कोही बिरामी भयो भने सजिलै स्वास्थ्य चौकीमा पुग्न सक्ने अवस्था छैन, घण्टौं लाग्ने ठाउँबाट पिठ्युमा बोकेर बिरामीलाई उपचारका लागि लिएर जानुपर्ने बाध्यता छ,” पुनले भन्नुभयो । यातायातको पहुँच छैन । बाटोघाटो व्यवस्थित छैनन् । बिरामी बोक्न यहाँ एम्बुलेन्स होइन स्ट्रेचरको समेत अभाव छ । कोही बिरामी भएमा ‘डोको’मा बोकेर उपचारका लागि लैजानुपर्ने यहाँको बाध्यता हो ।

साँघुरो भवनबाट सेवा दिनुपर्ने अर्को कठिनाइ छ । निर्माणाधीन भवनलाई नदी कटानले क्षति पु¥याएपछि अन्योल अझै थपिएको छ । औषधि भण्डारण गर्ने उपयुक्त ठाउँ छैन । तोकिएका दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ ।

हेल्थ असिस्टेन्टको दरबन्दी रहे पनि अहिलेसम्म कर्मचारी आएका छैनन् । अहेबको भरमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीमा कार्यरत अहेब देविन्द्र बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो – “विकटता छ । एक बस्तीबाट अर्को बस्तीमा जान घण्टौं लाग्छ । कुईनेखानीमा महीनाको एक पटक खोप केन्द्र र गाउँघर क्लिनिक चलाउँछौँ तर, पर्याप्त जनशक्ति, स्रोत र साधनको अभाव हुँदा सेवा प्रवाह प्रभावकारी बनाउन समस्या भइरहेको छ ।”

रघुगंगा गाउँपालिकाको कुईनेमंगलेसँगै चिमखोलाको पात्लेखेत, पाखापानीको ठाडखानी, दग्नामको दरमिजा, गाउँपालिकाकै केन्द्र मौवाफाँट, कलेजाबाङलगायतका ठाउँमा स्वास्थ्य सेवाको पहुँच सहज बन्न सकेको छैन ।

बर्थिङ सेन्टरको अभाव

बर्थिङ सेन्टरको सुविधा नहुँदा दुर्गम क्षेत्रका गर्भवती महिलालाई सास्ती छ । भौगोलिक रुपमा विकट बस्तीका स्वास्थ्य संस्थामा प्रसूति केन्द्रको सुविधा नहुँदा सुत्केरी हुन हजारौं रुपैयाँ खर्च गरेर शहरी क्षेत्रमा पुग्न उनीहरु बाध्य छन् । गरीब, विपन्न र आर्थिक रुपमा कमजोर समुदायका महिला घरमै असुरक्षित रुपमा सुत्केरी हुनुपर्ने अवस्था रहेको रघुगंगा गाउँपालिका–८ की महिला स्वास्थ्य स्वयंसेविका कदेवी छन्त्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो – “यो क्षेत्रमै बर्थिङ सेन्टर छैन । बर्थिङ सेन्टर रहेको पाखापानी जान अपायक छ । त्यसैले बच्चा जन्माउन कोही सदरमुकाम बेनी जाने गर्छन् त कोही घरमै असुरक्षित तवरले सुत्केरी बन्छन् ।” यातायातको पहुँच नपुगेको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले र वडा नं ७ चिमखोलाका महिलाहरुले यस क्षेत्रमा कम्तीमा एउटा बर्थिङ सेन्टर स्थापना गर्न माग गरेका छन् ।

डुवाडीकी स्थानीयवासी मनकुमारी छन्त्यालले भन्नुभयो – “प्रसूति सेवाका लागि हजारौं खर्च गरेर बेनी÷पोखराका अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ । हुनेखाने महीना दिन अघि नै बजार झरेर सुत्केरी बन्ने गरे पनि विपन्न गर्भवती महिलाहरु सुरक्षित प्रसूति सेवा लिन सामथ्र्य राख्दैनन् ।”

सुत्केरी हुन शहरी क्षेत्रमा जाँदा न्यूनतम पचास हजार रुपैयाँ खर्च हुने गरेको छ । सदरमुकाम वा पोखरा पुग्न नसक्ने महिलाहरु गाउँमै असुरक्षित रुपमा घरमै सुत्केरी हुने गरेका छन् ।

मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउन सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहँदा म्याग्दीका दुर्गम बस्तीका समस्याहरुप्रति स्थानीय सरकारहरु गम्भीर बन्नुपर्ने देखिएको छ । तलब गाउँपालिकामार्फत उपलब्ध गराउन थालिए पनि कर्मचारी व्यवस्थापनसहितको अधिकार पूर्ण रुपमा स्थानीय तहमा हस्तान्तरण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा स्थानीय सरकार अलमल छ ।
दरबन्दी रिक्त

रघुगंगा गाउँपालिकाका हरेक वडामा गरी ८ वटा स्वास्थ्य चौकी सञ्चालित छन् । चिमखोला, बेग, दग्नाम र झिँमा भवनको समेत अभाव छ । कुईनेमंगलेमा स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छ । गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा सुत्केरी गराउन पिप्ले, भगवती र पाखापानी स्वास्थ्य चौकीमा मात्रै बर्थिङ सेन्टर सञ्चालनमा छ । मापदण्ड अनुसारको भौतिक पूर्वाधार र वर्षमा १० देखि १५ जना सुत्केरी हुनुपर्नेे आधारमा अन्य स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टरको सेवा थप गर्न कठिनाइ देखिएको गाउँपालिकाले जनाएको छ ।

यो वर्ष झिँमा बर्थिङ सेन्टर स्थापना गर्ने तयारी गरिएका गाउँपालिकाका स्वास्थ्य संयोजक टीकाबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो – “मापदण्डअनुसारको भौतिक पूर्वाधार र जनघनत्व नहुनु प्रमुख समस्या हो ।

हरेक वर्ष चरणबद्ध रुपमा बर्थिङ सेन्टर थप्दै लगेर ५ वर्षभित्र सबै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवालाई विस्तार गर्ने योजना बनाएका छौँ ।” रघुगंगा गाउँपालिकामा अहिले स्वास्थ्य सेवा दिन न्यूनतम जनशक्ति रहे पनि कतिपयलाई तालीममा पठाउनुपर्ने र थप जनशक्ति माग गर्ने कुरा पनि यकिन नहुँदा केही समस्या देखिएको स्वास्थ्य सह संयोजक शिव प्रसाद पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार अहिले गाउँपालिकाभित्र दुईजना हेल्थ असिस्टेन्ट, तीनजना अहेब र दुईजना अनमीको दरबन्दी रिक्त छ ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले गाउँपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थामा प्रसूति गृह स्थापना गर्न प्रक्रिया थालनी भएको जानकारी दिनुभयो । उहाँका अनुसार झिँमा प्रसूति केन्द्र सञ्चालनका लागि पालिकाले एक लाख रुपैयाँ विनियोजन गरेको । आवश्यक उपकरण र पूर्वाधारको व्यवस्था गरेर प्रसूति गृह सञ्चालन गर्न र नयाँ भवन निर्माण गर्न पहल भइरहेको छ ।

स्वास्थ्य सेवाको आधार मानिएका महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि समेत गाउँपालिकाले मासिक एक हजार रुपैयाँ यातायात खर्च र दुई सय रुपैयाँ सञ्चार खर्च उपलब्ध गराउने नीतिगत निर्णय गरेको छ । रघुगंगामा ७२ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group