ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दामनमा चर्को हिमपात, हिउँ खेल्दै रमाउँदै पर्यटक


admin
२६ माघ २०७५, शनिबार   ४ : ५७   बजे


दामन, २६ माघ ।  मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा आज चर्को हिमपात भएको छ । राजधानी काठमाडौँलगायतका क्षेत्रमा तीन दिनदेखि लगातार परिरहेको पानीसँगै त्यस क्षेत्रमा शुक्रबार रातिदेखि चर्को हिमपात शुरु भएको हो । 

आज बिहान ६ बजेदेखि झन बाक्लो हिमपात भएको छ । आजको हिमपात अहिलेसम्मकै बढी हिमपात भएको स्थानीयले बताएका छन् । यतिबेलासम्म झण्डै आधाफुट बाक्लो हिउँ सडक तथा खुला क्षेत्रमा जम्मा भइसकेको छ । दामन तथा आसपासका घरका छाना, रुख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्य बनेको छ । 

बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बनेपछि त्यहाँ पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । “यतिधेरै हिउँ मैले यहाँ पहिलोपटक देखेको हुँ”, स्थानीय विजय कार्कीले भन्नुभयो, “हिउँ परेपछि यहाँ खेलेर रमाउने पर्यटक धेरै आउँछन् ।” कोही हिउँ मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव सङ्गालिरहेका छन् । 

हिउँ परेपछि सडकमा आवतजावत गर्ने लामो दूरीका यात्रु बोक्ने सवारीसाधनमा भने कमी आएको छ तर हिउँसँग खेल्न र रमाउने पर्यटक भने बढ्दै गएका छन् । हिउँ तथा वर्षात्का कारण यतिबेला यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत्को अभावमा पर्यटक तथा स्थानीयले मोबाइल चार्ज गर्नेलगायतका अन्य काममा अवरोध पुगेको छ । 

दामन तथा सिमभञ्ज्याङ घुम्न आएका पर्यटक बिहानैदेखि हिउँमा खेल्दै फोटो खिच्दै रमाएका छन् । काठमाडौँबाट पहिलोपटक दामनमा हिउँ खेल्न पुग्नुभएका पवन थापाले हिउँको वर्षा भएको पहिलोपटक देखेको बताउनुभयो । फुसफुस झर्दै गरेको हिउँको अनुभव उहाँले आफ्ना साथीभाइसँग फोन र सामाजिक सञ्जालबाट साट्नुभयो । “कसरी हिउँ पर्ने रहेछ भन्ने पहिलोपटक देखँे”, उहाँले भन्नुभयो, “हिउँसँग खेल्दा निकै रमाइलो लाग्यो ।” उहाँका अनुसार शुक्रबार राति असिना पानी प¥यो त्यसपछि लगातार हिउँ पर्न थाल्यो । 

विशेष कार्यक्रमका लागि दामन पुगेको सर्जिकल एशोसिएशनसँग आबद्ध १८ जनाले पनि हिउँ खेले । कामका लागि आएको भए पनि हिउँ परेपछि काममा ढिलाइ भएको मौकालाई टोलीले हिउँसँग खेलेर रमाइलो गरेको टोलीका रमण कायस्थले बताउनुभयो । होटलको कोठाबाट बाहिर निस्कदै हिउँसँग खेल्दै कामको तयारीमा टोलीका सदस्य जुटेका थिए । 

एभरेष्ट पानोरोमालगायतका होटल तथा रिसोर्टमा पर्यटक जम्मा हुने क्रम बिहानैदेखि थपिँदै गएको छ । अघिल्लो दिन आइपुगेकाले भने रातिदेखि नै हिउँसँग रमाइलो साटेका थिए । त्यस क्षेत्रमा हिउँ परेपछि आसपासका चित्लाङ, टिस्टुङ, बज्रबाराहीलगायतका क्षेत्रमा चिसो बढ्दै गएको छ । 

दामनमा हिउँ खेल्न काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथबाट करीब तीन घण्टामा दामन पुगिन्छ । त्यस्तै वीरगञ्ज, हेटौैंडा, चितवनबाट समेत सहजै दामन पुगेर हिउँ खेल्न सकिने पुगेका पर्यटकहरु बताउँछन् । त्यस क्षेत्रबाट आज बिहानैदेखि हिउँ खेल्नका लागि आउने पर्यटकले होटल ‘बुकिङ’ फोनबाट गरिरहेको स्थानीय होटल सञ्चालकहरुले जानकारी दिनुभयो । 

राजधानीबाट त्रिभुवन राजपथबाट ७५ किलोमिटरको दूरीमा रहेको दामन पुगी हिउँसँग रमाउन सक्नेछन् । त्यसैगरी चन्द्रागिरिबाट चित्लाङको कच्ची बाटोबाट पनि साना सवारीसाधनमा दामन पुगेर हिउँ खेल्न सकिन्छ । राजधानीको दक्षिणकाली, फाखेल हुँदै कुलेखानीको बाटो मार्खुभञ्ज्याङ हुँदै दामन पुगेर पनि हिउँको मज्जा लिन सकिने स्थानीय बताउँछन् । 

दामन तथा सिमभञ्ज्याङ क्षेत्रबाट हिमश्रृङ्खलाको अनुपम दृश्य देख्न सकिन्छ । जसमा लोभिने पर्यटकहरु अधिक हुन्छन् । यहाँबाट गणेश, मनास्लु, अन्नपूर्ण, लाङ्टाङ, गौरीशङ्करलगायतका हिमाल तथा हिलश्रृङ्खलाको अनुपम दृश्यावलोकन पर्यटकहरुले गरिरहेका छन् । 

समुन्द्री सतहबाट दुई हजार ४८८ मिटर अग्लो उचाइमा रहेको दामनस्थित भिउ टावरबाट हिमश्रृखलासँगै वरपरका मनोरम दृश्यावलोकन गर्न पर्यटकहरु तछाडमछाड गरिरहेका छन् । पर्यटकीय क्षेत्रका रुपमा चर्चित यस क्षेत्रलाई ग्रामीण पर्यटनको अवधारणामा विकास गरिंदै आएको छ । 

हिन्दू र तथा बौद्धमार्गीको वासस्थान रहेको यहाँको प्रसिद्ध मन्दिर ऋषेश्वरमा वर्षेनी ठूलो मेला लाग्दा धार्मिक पर्यटकहरु आउने गर्छन् । हिउँ परेपछि आएर रमाइलो गर्ने पर्यटकले स्थानीयले निर्माण गरेका होमस्टेमा बसेर ग्रामीण पर्यटनको मज्जा लिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu