काठमाडौं, ९ असार । पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । ‘साउनदेखि नयाँ दरअनुसार प्रहरीले रासनभत्ता पाउनेछन्,’ प्रहरीको बजेट महाशाखाका प्रमुख एसएसपी दीपक थापाले , ‘बजेट आइसकेको छ, नयाँ दर स्वीकृतिका लागि प्रक्रिया अघि बढिसकेको बताउनुभयो ।
उपत्यकामा कार्यरत प्रहरीले साउनदेखि दैनिक एक सय ९४ रुपैयाँ २९ पैसा रासनभत्ता पाउनेछन् । हाल उनीहरूले एक सय ७५ रुपैयाँ पाउँदै आएका छन् । त्यस्तै, झापामा कार्यरत प्रहरीले एक सय ५७ रुपैयाँ पाउँदै आएकोमा एक सय ७९ रुपैयाँ ८९ पैसा तथा इलाममा एक सय ६८ रुपैयाँ पाउँदै आएकामा दुई सय रुपैयाँ पाउनेछन् । ताप्लेजुङको ओलाङचुङगोलामा कार्यरत प्रहरीले चार सय ४४ रुपैयाँ लिँदै आएका थिए । उनीहरूको रासनभत्ता बढेर अब ६ सय १५ रुपैयाँ पाउने भएका छन् । पहाडी तथा हिमाली जिल्लाहरूमा खाद्यान्न महँगो हुने भएकाले रासनको दर उच्च हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस्